ad ad

राजनीति


राजावादीलाई पौडलको प्रश्न : गणतन्त्र मासेर कस्तो राजा ल्याउन खोजेको हो?

राजावादीलाई पौडलको प्रश्न : गणतन्त्र मासेर कस्तो राजा ल्याउन खोजेको हो?

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १०:४८,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा गणतन्त्र विरुद्धको नारा लाग्नुमा केपी ओली नेतृत्वको सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।

सरकारविरुद्ध काठमाडौंमा सोमबार भएको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध नारा लागेको बताए। उनले राजा फालेर ल्याएको गणतन्त्र मासेर फेरि कस्तो खालको राजा ल्याउन खोजेको हो भनेर पनि प्रश्न गरे ।

‘अहिले सडकमा राजतन्त्रको पक्षमा नारा लागेको छ, यसको सबै जिम्मेवार सरकार हो, सरकारकै कारण यस्ता नाराहरु लागेका छन्’, पौडेलले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्थामाथि यो सरकारले प्रहार गर्‍यो।’

राजा ल्याउन खोज्नेहरुले कस्तो किसिमको राजा ल्याउन खोजेको? कोतपर्व, भण्डारखाल पर्व मच्चाउने कि, सत्र साल ल्याउने कि माओवादी जन्माएर प्रजातन्त्रको हत्या गर्ने?’ पौडेलले प्रश्न गरे। देशव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोक्न सरकार असफल भएको उनले आरोप लगाए।

पौडेलले भने, ‘कोरोनालाई सरकारले भगवान भरोसामा छोड्यो।’

नेपाली कांग्रेसले पाँच वर्ष सत्ता बाहिर बस्ने म्यान्डेट पाएकोले चुप बसेको बताउँदै वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टाचार गरेको उनकै पार्टीका नेताहरुले खुलेआम भन्दै हिडेको बताए ।

हामी यो सरकारले पाच वर्ष काम गर्नुपर्छ भनेर चुप बसेको हौं, तर, यो सरकारले भ्रष्टाचार गरेको उनकै पार्टीका नेताले, बहुमत सचिवालय सदस्यले भनेका छन्, एम्नेष्टिको प्रतिवेदनले भनेको छ,’ पौडेलले थपे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामप्रति पनि उनले तीव्र असन्तुष्टि जनाए। विभिन्न भ्रष्टाचारमा मुछिएका नेताहरुलाई जोगाएर सरकारले शंकास्पद काम गरेको उनको भनाई छ।

‘अख्तियारले ठूला माछा छोड्ने साना माछा सामाउने गर्यो, यसको भूमिका शंकास्पद छ,’ पौडेलले भने।

पौडेलले बर्तमान सरकारले राज्यका संयन्त्रलाई आफ्नो इशारामा नचाएको आरोप पनि लगाए। उनले कम्युनिष्ट पार्टीका मामुली कार्यकर्ताले पनि प्रहरी प्रशासन चलाएको बताए।

‘सबैलाई सन्त्रासमा राखेर आफ्नो इशारामा चलाउन खोजेको छ। सारा समाजलाई, देशलाई आफ्नो मुठ्ठीमा पार्न खोजिएको छ’ उनले भने।

उनले सरकार कम्युनिष्ट पार्टीको भएपनि देश साम्यवादी नभएको बताए।

‘अहिलेको सरकार कम्युनिष्ट पार्टीको होला। तर देश कम्युनिष्ट शासन प्रणाली अन्तर्गतको होइन, देश साम्यवादी पनि होइन’ पौडेलले भने, ‘तर समाजलाई आफ्नो अनुकुल चलाउन खोजिएको छ। राज्यका संयन्त्रलाई आफूखुशी दुरुपयोग गरिएको छ। कम्युनिष्ट पार्टीका मामुली कार्यकर्ताले पनि प्रहरी प्रशासन चलाएका छन्। उनीहरुले कसैलाई समात भने प्रहरीले समात्छ। कुट भने कुट्छ।’

नेता पौडेलले तनहुँमा आफूमाथि प्रहरी प्रशासनले दुर्व्यवहार गरेको उल्लेख गर्दै कम्युनिष्टको आदेशलाई पालना गरेर हिँड्न नसक्नेहरुलाई देशैभरी दमन गरिएको दाबी गरे।

उनले देश लोकतान्त्रिक भएपनि शासन गर्ने मान्छेहरु लोकतान्त्रिक हुन नसकेको बताए। उनले सरकारले स्थानीय तह र प्रदेशको अधिकार केन्द्रमै खिचेर राखेका कारण प्रदेश सरकारहरु अदालत धाउन बाध्य भएको बताए।

संवैधानिक निकाय, अड्डा, अदालत सबैतिर आफ्ना मान्छे भर्ती गर्ने परिपाटी बसेको उनको भनाई थियो। प्रदेश प्रमुखमा समेत कार्यकर्ता भर्ती गरिएको उनले बताए।

‘हाम्रो पार्टीको सरकार हुँदा हामीले सामाजिक रुपले प्रतिष्ठित मानिसहरुलाई प्रदेश प्रमुख बनाएका थियौं, तर आज सबैलाई हटाएर आफ्ना कार्यकर्ता भर्ती गरेको छ’ पौडेलले प्रश्न गरे, ‘प्रदेश प्रमुख कार्यकर्ता भर्ती गर्ने थलो हो?’

विरोध प्रदर्शन अघि काठमाडौंका विभिन्न स्थानबाट जुलुश निस्किाएर शान्तिबाटिकामा पुगेको थियो। कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .