ad ad

राजनीति


उपराष्ट्रपतिसँग बंगलादेशी राजदूतको भेट, दुई देशीय सहकार्यबारे छलफल

उपराष्ट्रपतिसँग बंगलादेशी राजदूतको भेट, दुई देशीय सहकार्यबारे छलफल

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १०:४६,

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन्।

सोमबार अपराह्न उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको हो।

भेटमा उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताए। उनले स्वतन्त्रतापछि बंगलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिँदै बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको स्मरण गरे।

उपराष्ट्रपतिले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझै उचाईमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ् र विस्तार हुने विश्वास व्यक्त गरे।

उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरुको साझा रुपमै सामना गर्नुपर्ने बताए। उनले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९)बाट विश्व छिट्टै सहज अवस्थामा फर्कने र पर्यटन गतिविधि बढ्ने बताउनुहुँदै नेपाल पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए।

‘कोभिड–१९ बाट विश्वसँगै नेपाल पनि छिट्टै सहज अवस्थामा फर्कनेछ । हामी पर्यटकलाई स्वागत गर्न आतुर छौं’, उपराष्ट्रपतिले भने, ‘बंगलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल आउनेमा विश्वस्त छौं।’

उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई गरेको सहयोगका लागि बंगलादेशलाई धन्यवाद समेत दिए।

उपराष्ट्रपतिसँगको भेटमा बंगलादेशका राजदूत चौधरीले नेपाल बंगलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताए। बंगलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिंदै उनले बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको बंगलादेशी जनताले कहिल्यै नबिर्सने बताए।

उनले बंगलादेशका राष्ट्रपतिको भ्रमणले दुई देशबीचको समन्ध थप मजबुत बनेको उल्लेख गर्दै नेपाल आउनुअघि भएको भेटमा राष्ट्रपति हमिदले आफ्नो नेपाल भ्रमणको क्रममा पाएको न्यानो आतिथ्यता र स्वागत सत्कारका लागि नेपाली नेता र जनतालाई कृतज्ञता सुनाइ दिनु भनेको बताए।

राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बंगलादेशले सहकार्य विस्तार गर्न चाहेको बताए। उनले आगामी साता बंगलादेशबाट नेपालले मल किन्ने सम्बन्धी संझौता हुने बताए। उनले प्राकृतिक सौन्दर्यताका लागि बंगलादेशीहरुका नेपाल पहिलो रोजाई भएको बताए। ‘एडभेन्चर टुरिजमका लागि भन्नै पर्दैन बंगलादेशीहरुको पहिलो गन्तव्य नेपाल हो,’ उनले भने।

राजदूत चौधरीले बंगलादेश ‘क्लिन इनर्जी’प्रति प्रतिबद्ध भएको उल्लेख गर्दै सोको लागि नेपालको बिजुली किन्न चाहेको बताए। ‘बंगलादेश नेपालको बिजुली किनेर भारत हुँदै लैजान चाहन्छ । किनकी यो क्लिन इनर्जी हो,’ उनले भने।

राजदूत चौधरीले उपराष्ट्रपति पुनसँग उपर्युक्त समयमा बंगलादेशको भ्रमण गर्न आग्रह गर्दै सो भ्रमणले दुई देशको सम्बन्ध अझै सुदृढ् हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .