ad ad

राजनीति


कमानसिंहसँगको विवादबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि सुसनका श्रीमानले के भने?

कमानसिंहसँगको विवादबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि सुसनका श्रीमानले के भने?

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ७:१४,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हाइड्रोपावरसम्बन्धी विवादको आर्थिक विषयमा मुछेकोमा उक्त हाइड्रोका अध्यक्ष सुसन कर्माचार्यका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले आपत्ति जनाएका छन्।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर जानकारी गराएको उनले बताए। सोमबार सामाजिक सञ्जालमा लेख्दै राजभण्डारीले यस विषयमा बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह समेत गरेको उनले बताए।

सुसन अध्यक्ष रहेको याम्बालिङ हाइड्रोपावर परियोजना र नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाबीच आर्थिक लेनदेनका विषयमा विवाद भएपछि प्रवक्ता श्रेष्ठले मिलाउने कोशिस गरेको भिडियो र अडियो बिहीबार सार्वजनिक भएको थियो।

सो विवादमा नेकपाका प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको भन्दै राजभण्डारीले आफ्नो र श्रीमतीसमेत परिवारको चरित्रहत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी प्रचार गरिएकोमा असन्तुष्टि जनाएका हुन्।

‘कुनै प्रमाणविना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्रहत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ,’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत श्री कमानसिंह लामाको बीचमा रहेको विवादमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर र मेरो श्रीमती समेत हाम्रो परिवारको चरित्रहत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा हिजो २०७७ मंसिर २८ गते दिनको २ बजेबाट ३ः४५ सम्म, म, मेरो श्रीमती (सुसन) र छोरी स–परिवार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई भेटेर सबै यथार्थ राख्यौँ।’

उनले प्रधानमन्त्री ओलीले १ घण्टा ३० मिनेट समय दिएको उल्लेख गर्दै सबै कुरा ध्यानपूर्वक सुनेको बताएका छन्।

‘उहाँले श्री कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकोले मिलेर सल्टाउन र क. प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो’, उनले लेखेका छन्, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनले जे पनि लेख्छ यसको पछि लाग्नुहुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनुभयो। देशमा राष्ट्रपतिजस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो।’

राजभण्डारीले आफ्नो परिवारको तर्फबाट प्रधानमन्त्री ओलीलाई समय र साथको लागि धन्यवाद ज्ञापन गरेका छन्।

‘कुनै प्रमाणविना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ’, राजभण्डारीले लेखेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .