नेपाल कम्युन्सिट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा रहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कांग्रेस नेतृ कौसर साहसहितका नेपाली कांग्रेसका १०९ जना नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले पार्टीको अहिलेको बहस पनि समाजवादको यात्रा कस्तो हुने भन्नेमा केन्द्रत रहेको बताए।
‘हाम्रो संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको छ, त्यो समाजवादी उन्मुख राज्य निर्माणको मुख्य जिम्मबारी र दायित्व पनि कम्युनिस्ट पार्टीकै काँधमा छ’, उनले भने।
अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने, सुदृढ गर्ने, फुलाउने फलाउने र देशलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढाउने क्रममा विभिन्न चुनौति र समस्या आए पनि त्यसलाई सामना गर्ने क्षमता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग मात्रै रहेको दावी गरे।
उनले नव प्रवेशीलाई योग्यता र क्षमताका आधारमा पार्टीभित्र जिम्मेवारी दिइने बताए।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको मुक्तिका लागि, राष्ट्रको स्वाभिमान माथि उठाई जनतालाई सुख र समृद्धि दिने अभियानमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेको भन्दै शाहसहितका नेता कार्यकर्तालाई स्वागत गरे।
वरिष्ठ नेता नेपालले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको बताए।
कार्यक्रममा नेतृ शाहले कांग्रेसबाट परिवर्तन सम्भव नभएपछि आफू नेकपामा प्रवेश गरेको बताएकी थिइन्।

प्रतिक्रिया