राजनीति


नेकपाको आन्तरिक झगडाले विकास निर्माण रोकिँदैन : मुख्यमन्त्री गुरुङ

नेकपाको आन्तरिक झगडाले विकास निर्माण रोकिँदैन : मुख्यमन्त्री गुरुङ

नेपालखबर
मंसिर २७, २०७७ शनिबार १२:१५,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन्।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए।

प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपांगका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।

सरकार सडक मानवरहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उहाँले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे। कोरोना भाइरसको उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको बताउँदै उनले सरकारी अस्पतालले निःशुल्क उपचार गर्दा पनि कतिपय बिरामीलाई परिवारले निजी अस्पतालमा लैजाने गरेको बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सरकार ज्येष्ठ नागरिकप्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र ज्येष्ठ नागरिक भत्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गरे।

उनले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि एक वर्षसम्म बुबाआमालाई आफ्नो तर्फबाट खाजाको व्यवस्था गर्ने जानकारी दिरे। अर्का प्रदेशसभा सदस्य विन्दु थापाले समाजका ज्येष्ठ नागरिकलाई घरघरमा दिनुपर्ने व्यवहार यथेष्ठ नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसँगै उनीहरुलाई केही हदसम्म भए पनि सुविधा पुग्ने बताइन्।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले आफ्नो व्यक्तिगततर्बाफट रु ५० हजार १५५ अक्षयकोषको लागि प्रदान गर्ने घोषणा गर्दै प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रमबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रदेशसभा सदस्य मीना गुरुङ र पुष्पा केसी भण्डारीले ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माणमा सरकारी तथा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माण कार्य अघि बढेको बताए।

कार्यक्रममा केन्द्रको निरन्तरताका लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरी राजेश गुरुङले रु एक लाख, लोकबहादुर थापाले रु ५० हजार र कार्यसमितिको तर्फबाट रु १२ लाख गरी कूल रु १४ लाख जम्मा भएको अध्यक्ष दानबहादुर बानियाँले जानकारी दिए।

बडहर बोटस्थित सार्वजनिक जग्गामा तीनतले पक्की भवन निर्माण गरिनेछ। भवनको पहिलो तलामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, अध्ययन स्थल र भान्छा रहने छ भने दोस्रोमा प्रवचन तथा योगा हल तथा तेस्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ।

दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट रु एक करोड, पोखरा महानगरपालिकाबाट रु एक करोड र सङ्घीय एवं प्रदेशसभा सदस्यहरुबाट समेत सहयोग हुने आश्वासन प्राप्त भएको संस्थाका सचिव दिनेश श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad