नेकपाको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा पेस भएका दुई प्रतिवेदनलाई तल्लो कमिटीमा लगेर छलफल गर्न नचाहे पनि बहुमत सदस्यको दबाबका कारण ती प्रतिवेदनमाथि अब स्थायी समितिमा छलफल हुने भएको छ।
भोलि १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी समिति बैठकमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले पेस गरेका प्रस्ताव पेस गर्ने निर्णय भएको छ।
शनिबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।
यो पनि: नेकपा सचिवालयको निर्णय : दुवै अध्यक्षका प्रस्ताव स्थायी समितिमै छलफल गर्ने
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले दुबै प्रतिवेदनमाथी छलफल नगर्न प्रस्ताव गरेका थिए।
तर कमिटीमा छलफल गर्ने निर्णय भैसकेको विषयलाई रोक्न नमिल्ने नेताहरूले अडान लिएपछि प्रतिवेदनमाथी कमिटीमा छलफल हुने भएको हो।
‘प्रधानमन्त्री ओलीले भोलि बैठक नबसौं, यी प्रतिवेदनमाथी छलफल पनि नगरौं भन्नु भएको थियो,’ सचिवालयका एक नेताले भने, ‘हामीले कमिटीमा प्रवेश गरेको प्रतिवेदनलाई छलफल गरेरै एउटा निष्कर्षमा पुग्नुपर्नेमै जोड गर्यौं, उहाँलाई एक किसिमको दबाब दिएरै निर्णय गर्यौं, अब स्थायी कमिटीमा बिस्तृत छलफल हुन्छ।’
ती नेताका अनुसार आजको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली आउने मुडमा थिएनन्।
‘उहाँको आज पनि बैठकमा आउने चाहनना थिएन। प्रचण्डजीले गएर बैठकमा आउनुस्, आफ्नो कुरा राख्नुस्, भनेर भनेपछि आउन तयार भएको जानकारी पाएका छौँ,’ उनले भने।
सचिवालय बैठकअघि ओली–प्रचण्डबीच केहिबेर छुट्टै कुराकानी भएको थियो।
प्रचण्डले कात्तिक २८ गते ल्याएको राजनीतिक प्रस्ताव र त्यसको १५ दिनपछि ओलीले पेस गरेको जवाफी प्रतिवेदनलाई तल्लो कमिटीमा छलफल गर्ने विषयमा ओली–प्रचण्डबीच विवाद हुँदै आएको थियो।
ओलीले प्रचण्डको प्रस्ताव नभएर आरोप पत्र भएको र त्यसलाई फिर्ता गर्नुपर्ने अडान लिएका थिए।
तर त्यसको जवाफमा ओलीको समेत प्रतिवेदन आएकोले कमिटीमा छलफल गर्नुपर्ने सचिवालयका बहुमत नेताहरूको दबाब दिएपछि कमिटीमा अल्पमतमा रहेका ओलीले रोक्न नसकेका हुन्।
आज शनिबारको बैठकमा ओलीले भोली स्थायी समिति बैठक नराखौ भन्ने प्रस्ताव गर्दा अरु नेताहरुले अस्वीकार गरे। तर सचिवालयमा अध्यक्ष ओलीलाई साथ दिँदै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि आजको बैठकमा भने उनको प्रस्तावको पक्षमा नबोलेको एक सचिवालय सदस्यले बताए।
यो पनि:
नेकपा विवाद : कमिटीका बैठक, अनौपचारिक छलफल–संवाद र गृहकार्य साथसाथै अघि बढ्ने

प्रतिक्रिया