नेपाल र भारतबीच सीमा विवादका कारण उत्पन्न लामो संवादहीनतालाई तोड्दै दुई देशबीच उच्चस्तरीय कूटनीतिक वार्ता सुरु भएको छ।
नेपाल र भारतबीच उत्पन्न गतिराेधकाे अन्त्य हुँदै १५ महिनापछि उच्च कुटनीतिक तहमा औपचारिक वार्ता सुरु भएको छ भने सो वार्तामा दुई देशबीच अहिले सबैभन्दा गम्भीर बन्दै गएको सीमा विवादबारे पनि खुलस्त छलफल भएको छ।
परराष्ट्रसचिव भरतराज पौड्याल र नेपाल भ्रमणमा रहेका उनका भारतीय समकक्षी हर्षवर्धन श्रृंगलाले नेतृत्व गरेकाे प्रतिनिधिमण्डलबीच भएकाे द्विपक्षीय वार्तामा दुई देशबीचको सीमासम्बन्धी बाँकी काम पनि सम्पन्न गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालस्थित भारतीय दूतावासले राति अबेर जारी गरेको विज्ञप्तिका अनुसार पुनः सुचारु भएको वार्तालाई थप गति दिँदै उच्चस्तरीय द्विपक्षीय अन्तरक्रियालाई अझ बढाउनका लागि दुवै सचिवले प्रतिबद्धता व्यक्त गरेका छन्।
दूतावासका अनुसार दुई देशबीचको परम्परागत, घनिष्ट, मैत्री र बहुआयामिक साझेदारीलाई थप बलियो बनाउनका लागि द्विपक्षीय अन्तरक्रियालाई बढाउनु जरुरी रहेको सो वार्तामा जोड दिइएको थियो।
यो पनि: द्विपक्षीय सहकार्यबारे निकै फलदायी कुराकानी भयोः भारतीय विदेशसचिव श्रृंगला (भिडियो)
त्यसैगरी प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसँग भारतीय विदेशसचिवले गरेका शिष्टाचार भेटवार्ताहरुमा पनि सीमा विवादको विषयमा छलफल भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेशसचिव श्रृंगलामार्फत् सीमा बिबादलाई नेपालले संवादबाटै समाधान गर्न चाहेको सन्देश भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष पठाएका छन्। प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यम राससले साे कुरा जनाएको छ।
‘हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युग सुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ,’ श्रृंगलासँगको भेटमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘सीमालगायत विवादित विषयमा वार्ताकै माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।’
ओलीले नेपाल र भारतबीचकाे सीमा विवाद अहिले एकाएक सिर्जना भएकाे नभई इतिहासले विरासतका रुपमा छाडेका समस्या भएको हुँदा त्यसलाई अहिलेको नेतृत्वले सुल्झाउनुपर्ने बताएका थिए।
‘यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौँ, यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु,’ ओलीले भारतीय विदेशसचिवलाई भनेका थिए।

गत कात्तिकमा भारतले नेपाली भूभाग समेत समेटेर भारतको नयाँ नक्सा जारी गरेपछि विवाद नयाँ रुपमा सुरु भएको थियाे। फेरि बैशाखमा भारतले अतिक्रमित नेपाली भूभाग हुँदै सडक निर्माण तथा उदघाटन समेत गरेपछि साे विवाद थप बल्झियाे।
भारतले नेपाली भूमिबाट सडक नै बनाएपछि नेपालले पनि लिम्पीयाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा सार्वजनिक गरेको थियो। नेपालको सो कदमलाई भारतले नेपाली नक्साको कृत्रिम विस्तार भन्दै सो कुरा आफूलाई स्वीकार्य नहुने जनाएको थियो।
दुई देशबीच तिक्तता बढ्दै गएपछि नेपालले सीमा बिबाद समाधानका लागि परराष्ट्र सचिवस्तरमा बैठक गरेर संवादबाट सुल्झाउन जाेड दियाे। भारतले भने कोभिड–१९ महामारीको कारण देखाउँदै वार्ताको प्रस्तावलाई धकेलिरहेको थियो।
सीमा विवाद बल्झिरहँदा संवादहीनताको अवस्था लम्बिएपछि नेपाल र भारतबीचको युगौं पुरानो सम्बन्ध अप्ठेरोमा परेको भनी चिन्ता व्यक्त हुन लागेको थियो। तर, त्यो संशय चिर्दै अन्तत: उच्च कुटनीतिक तहमा संवाद सुरु भएको छ।
यो पनि: भारतीय विदेश सचिव भन्छन्- म पहिले नै नेपाल आउन चाहेको थिएँ, कोरोनाका कारण सकिएन (भिडियो)
पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफुसँग शिष्टाचार भेटमा आएका विदेशसचिव श्रृङगलालाई सीमा समस्याको समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन चाहेको बताएका थिए।
परराष्ट्रमन्त्री ज्ञवालीले श्रृंगलालाई सीमा विवाद समाधान गरी नेपाल–भारत सम्बन्धलाई थप समधुर बनाउने नेपालकाे चाहना रहेकाे प्रष्ट्याएका थिए।
‘भेटवार्ता अत्यन्त सौहार्द्धपूर्ण रुपमा सम्पन्न भयो। हाम्रो सरोकारका सबै विषय राख्यौं। भारतले पनि आफ्नो सरोकारको विषयहरु खुलस्त राखेको छ,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘नेपाल–भारतबीच नसुल्झिएका सीमासहितका सबै विषयलाई वार्ताको माध्यमबाट समाधान गर्न बाटो पहिल्याउनु पर्ने आवश्यकता रहेको नेपालको धारणा हो। अहिले रहेका विवादका विषयहरुलाई समाधान गरेर दुवै देशबीचको सम्बन्ध अझै बढी हार्दिक र सुमधुर बनाउनु पर्ने दुवै देशको धारणा रह्यो।’
नेपालका परराष्ट्रसचिव पौड्यालको निमन्त्रणामा दुई दिने भ्रमणको क्रममा बिहीबार बिहान नेपाल आएका भारतीय विदेश सचिव श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी र विपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि शिष्टचार भेट गरेका थिए।
परराष्ट्र मन्त्रालयले जारी गरेका विज्ञप्तिमा बिहीबार दिँउसो याक एन्ड यति होटलमा भएको द्वीपक्षीय वार्तामा व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, उर्जा, लगानी, संस्कृति, कृषि, जनस्तरको सम्बन्धसहितको विषयमा समीक्षा भएको जनाएको छ।
यो पनि:
- भारतीय विदेशसचिवले नेपालमा आफ्ना कार्यक्रमबारे यसरी नेपाली भाषामै दिए जानकारी (भिडियो)
Shares

प्रतिक्रिया