समाज


आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना, काठमाडौँसहित १६ जिल्लामा बाढीको खतरा

आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना, काठमाडौँसहित १६ जिल्लामा बाढीको खतरा

नेपालखबर
असार २०, २०८३ शनिबार ८:४४, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको 'न्यून चापीय क्षेत्र' सरदर स्थान आसपास छ। यतिबेला (शनिबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ।‌

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको अद्यावधिक प्रक्षेपण यस्तो छ:

दिउँसो: देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

राति: कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही, तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। 

काठमाडौँमा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। 

‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम समग्रमा साधारणतया बदली हुनेछ, यद्यपि अहिले (बिहान) आंशिक बदली छ’, उनले बिहान ७:४५ बजे नेपालखबरसँग भने, दिउँसो २ बजेपछि बादल बढ्दै जाने र मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

काठमाडौँ उपत्यकामा राति पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले बताए।  

‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत छ’, उनले भने। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

आज यी जिल्लामा बाढीको सम्भावना

वर्षासँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम पनि बढेको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका कम्तीमा १६ जिल्लामा बाढीको सम्भावना छ। 

आज काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, सखुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

बाढीबारे विस्तृत जानकारी तल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad