राजनीति


सीपी मैनालीसँगै नख्खु जेल ‘ब्रेक’ गर्ने पूर्वसांसद वीरबहादुर लामाको निधन

सीपी मैनालीसँगै नख्खु जेल ‘ब्रेक’ गर्ने पूर्वसांसद वीरबहादुर लामाको निधन

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ३:६,

पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ।

७० वर्षिय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको छोरी श्रमिक लामाले जानकारी दिएकी हुन्।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि लामा पछिल्लो २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए। 

निमोनिया भएपछि गत सोमबार लामालाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो भने बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो।

कोरोना महामारीका कारण डायलाइसिस गर्न समस्या परेकाे उनकाे परिवारका सदस्यले बताएका छन्।

निमोनियाका कारण ज्वरो आएको लामालाई चारपटक कोरोना परीक्षण गरी चारैपटक रिपाेर्ट नेगेटिभ आएपछि मात्र अस्पतालले भर्ना लिएकाे परिवारले जनाएको छ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०६२/०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४  सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित भएका थिए।

लामा जिविस सभापति भएका बेला नै काठमाडौं-तराई जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो।

२०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दीमध्ये लामा एक थिए। त्यो बेला नख्खु जेलमा झापा विद्रोहका नेताहरूमा उनीसहित सीपी मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्का, भीष्म धिमाल, माधव पौडेल, प्रदीप नेपाल, गोपाल शाक्य, परमेश्वर यादव र अशोक न्यौपानेलगायत १५ जना थिए।

मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। जातीय पहिचानसहितको राज्यबारे तत्कालीन नेकपा एमालेभित्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताले पार्टी छाडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad