अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको मत गणना जारी नै छ।
अहिलेसम्मको मत परिणामअनुसार जो बाइडेन अगाडि देखिएका छन् तर डोनाल्ड ट्रम्पले कतिपय स्थानमा धाँधली भएको भन्दै पुनः मत गणनाको माग राखेर अदालमा मुद्दा हालेका छन्।
अमेरिकामा राष्ट्रपति पद जित्न कूल ५३८ इलेक्टोरल मतमध्ये २ सय ७० ल्याउनुपर्छ।
तर नतिजा आउन बाँकी रहेका राज्यमध्ये जोर्जिआमा बाइडन र अन्य सबैमा ट्रम्पका पक्षमा मत आएका खण्डमा इलेक्टोरल मत बराबर २६९-२६९ हुन्छ।
यस्तो अवस्थामा के हुन्छ?
जानकारका अनुसार यस्तो बेला संसदले निर्णय गर्छ। सन् १७९६, सन् १८००, सन् १८२५, र सन् १८७७ मा गरी चारपटक सिर्जना भएको यस्तै विशेष परिस्थितिमा अमेरिकाको संसदले राष्ट्रपति छानेको छ।
त्यहाँ संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनी व्यवस्था छ।
तल्लो सदनमा प्रत्येक राज्यका प्रतिनिधि मण्डलले एक मत दिन पाउँछन्। यस हिसाबले संसदमा जम्मा ५० मत हुन्छ र २६ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा विजयी हुन्छ।
सिनेट भनिने माथिल्लो सदनका सबै १०० सदस्यले मत दिएर उपराष्ट्रपति छान्छन्।
अहिले तल्लो सदन अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीको बहुमत छ भने माथिल्लो सदन अर्थात् सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ। बीबीसीबाट

प्रतिक्रिया