छापा खबर


नरवणेको भ्रमण: नेपाल-भारत सम्बन्ध सुधारमा ग्रिन सिग्नल

नरवणेको भ्रमण: नेपाल-भारत सम्बन्ध सुधारमा ग्रिन सिग्नल

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ०:३५,

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नेपाल आएका नरवणेको राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूसँगको भेटपछि सीमा विवादको विषयले बिग्रिएको दुई देशको सम्बन्धमा उपाधि ग्रहण परम्पराको निरन्तरतासँगै सुधारको संकेत देखिएको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गरेका नरवणेले राष्ट्रपति भण्डारीसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए।

यसैगरी, शुक्रबार उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको स्पष्ट पारेका छन् । उनले सोही सम्बन्धका कारण नै दुई देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको पनि स्मरण गरेका छन्।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराईका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच देखिएको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल सरकारका पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पहिले खासै चासो नहुने यस्ता भ्रमण सीमाका विषयमा नरवणेले दिएको अभिव्यक्तिकै कारण चर्चामा आएको र नेपाली सेनाका प्रधानसेनापतिले सो समयमा जवाफी प्रतिक्रिया नदिँदा यो भ्रमण हुन सकेको बताए।

नरवणेको भ्रमण दुई देशबीच बिग्रिएको सम्बन्ध सुधारमा ‘आइसब्रेक’ भएको समेत प्रधानले स्पष्ट पारे। ‘नरवणेले सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिए तर हाम्रा सेना प्रमुखले बुद्धिमताको प्रयोग गरे । त्यसकारण यो भ्रमण सम्भव भयो, यो भ्रमण सीमा विवादपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारमा आइसब्रेक हो,’ पूर्वरक्षामन्त्री प्रधानले भने।

भारतले सीमा विवादका सम्बन्धमा कूटनीतिक वार्ताका लागि चासो नदेखाए पनि केही साताकै अन्तरालमा रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले समेत दुई देशको सम्बन्ध सुधारमा ग्रिन सिग्नल दिएको हो।

कतिपयले दुई देशबीच राजनीतिक र कूटनीतिक सम्बन्ध चिसिएको बखत सैन्य कूटनीतिको सहारामार्फत सम्बन्ध सुधारको पहल थालिएको समेत भन्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad