राजनीति


बैठक राख्न ओली तयार नभए, प्रचण्ड–नेपाल पक्षको यस्तो छ ‘प्लान बी’

बैठक राख्न ओली तयार नभए, प्रचण्ड–नेपाल पक्षको यस्तो छ ‘प्लान बी’

सागर न्यौपाने
कात्तिक २०, २०७७ बिहिबार १६:२५,

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबीच शक्ति संघर्ष झनै चर्किने देखिएको छ।

समझदारी जुट्ने कुनै संकेत नदेखिइरहेका बेला दुवै पक्षले आआफ्ना रणनीति तय गर्दै अघि बढिरहेका छन्।

पाँच दिनपछि ओलीलाई भेट्न बिहीबार बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच सौहार्दपूर्ण रुपमा छलफल समेत नभएको नेताहरुले बताए।

पार्टी बैठक बोलाउने विषयमा छलफल गर्ने प्रस्ताव गर्ने प्रचण्ड बालुवाटार पुगेका थिए। तर ओलीले बैठक राख्ने प्रस्ताव सिधै अस्वीकार गरेपछि डेढ घण्टामै उनी खुमलटार निवास फर्किए।

ओली सहमतिमा आउनै नचाहेको प्रचण्डको बुझाइ रहेको उनीनिकट नेताहरुको भनाइ छ।

बिहीबार विहान कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा वरिष्ठ नेता माधवकुमार नेपालसहित केही कानुन व्यवसायीसँग छलफल गरेका प्रचण्ड मध्यान्ह बालुवाटार पुगेका थिए।

प्रचण्डसँग ओलीले आफू अहिले कुनै बैठक बोलाउने पक्षमा नरहेको जवाफ दिएका थिए। एक सचिवालय सदस्यका अनुसार ओलीले अहिले बैठक गर्नुको कुनै अर्थ नरहेको बताएका थिए।

‘अध्यक्ष प्रचण्ड बैठक राखौं भन्ने सल्लाह गर्न जानुभएको थियो’, ती नेताले नेपालखबरसँग भने, ‘उहाँले (प्रधानमन्त्री) बैठकको कामै छैन भन्नुभएछ।’

त्यसाे त यसअघि पनि प्रचण्डलाई प्रधानमन्त्री ओलीले बैठककाे कुनै अर्थ नभएकाे र बैठक गरी बहुमतबाट कुनै निर्णय गरेपनि त्यसलाई आफूले नमान्ने भनेकाे जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक गरेका थिए।

नेताहरुका अनुसार प्रचण्ड र वरिष्ठ नेता नेपालले पेरिसडाँडामा केही कानुन व्यवसायीसँग गरेको छलफललाई ओलीले अविश्वासको प्रस्ताव ल्याउनका लागि गरिएको तयारीका रुपमा बुझेका छन्। त्यसैकारण प्रचण्डले बैठक राखौं भनेर गरेको प्रस्ताव ओलीले अस्वीकार गरेको प्रधानमन्त्री ओलीनिकट एक नेताले बताए।

ओलीनिकट ती नेताका अनुसार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग ‘तपाईंहरुले मलाई घेराबन्दी गरिरहेकाे, हस्ताक्षर उठाउँदै हिडेर मेराबिरुद्ध बहुमत पुर्‍याउने तयारी गरेको सबै कुराहरु मलाई थाहा छ’ भनी बताएका थिए।

‘तपाईंहरुले जे जे मनलाग्छ गर्नु तर म तपाईहरुले जेजे गरेपनि म (पद) छोड्दिन र तपाईहरुले बोलाउने मिटिङमा पनि आउदिन भनेर उहाँलाई भन्नुभएको छ,’ ती नेताले भने।

कानुन व्यवसायीसँगको छलफल गर्नु भनेको आफूविरुद्धका बिभिन्न योजनाहरुलाई अझ सुनियोजित ढंगबाट अघि बढाउनका लागि गरिएको भन्ने ओलीको विश्लेषण छ।

दुई अध्यक्षबीच सहमति गरेर मात्र पार्टीको बैठक बोलाउनु पर्ने अडानमा रहेका ओलीले प्रचण्ड–नेपाल मिलेर बहुमतको सदस्यकाे बैठक बोलाएर आफूलाई हटाउने सम्मको योजना बनाइएको सूचना आएको संकेत गरेका थिए।

बिहीबार विहान बसेको मन्त्रीपरिषद् बैठकमा पनि अर्को पक्षका गतिबिधिप्रति तिब्र असन्तुष्टि व्यक्त गरेका ओलीले सरकारविरुद्ध बिभिन्न षडयन्त्रहरु भएको मन्त्रीहरुसँग बताएका थिए।

त्यसपछि आजै बिहीबार साँझ ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरुसहित केही नेतासँग बालुवाटारमा छलफल पनि गरेका छन्।

प्रचण्ड–नेपाल योजना
प्रधानमन्त्री ओलीले बैठक बस्नै अस्वीकार गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे प्रचण्ड र वरिष्ठ नेता नेपालले नयाँ रणनीति तय गर्दैछन्।

उनीहरुले अझैपनि ओलीसँग छलफल गर्ने र बैठकमा बस्ने वातावरण बनाउने रणनीतिलाई नै पहिलाे प्राथमिकतामा राखेको एक नेताले बताए।

तर, सहमति हुँदै नहुने अवस्था भयो भने चाहिँ पार्टी कमिटीको बैठक बोलाइने उनको भनाइ छ।

‘सँगै बसेर सल्लाह गर्नुपर्‍यो, पार्टीलाई फुट्न र बिग्रिन नदिन अझैपनि प्रयत्न गर्नुपर्‍यो भन्दा प्रधानमन्त्रीले चाहिँ बैठक बस्नै इन्कार गरिराख्नुभएको छ,’ ती नेताले भने, ‘समस्या नै त्यही खडा भयो।’

कार्यकारी अध्यक्षको नाताले प्रचण्डले बैठक बोलाउने विकल्पबारे पनि नेताहरुबीच छलफल भएको छ।

तर, ओलीले बैठकमै बस्दिन भनिसकेपछि बैठक कसरी बोलाउने भनी नेताहरु अन्योलमा रहेको ती नेताले बताए।

अझै पनि अधिकतम प्रयास गरेर अध्यक्ष ओलीलाई सहमतिमै ल्याउन नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन्।

‘पार्टीलाई दुर्घटनाबाट रोक्नको लागि हाम्रोतर्फबाट प्रयत्न भइरहेको छ, मिलनविन्दूको खोजीबारे छलफल गरिरहेका छौं,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘मिलन विन्दूमा खासै समस्या छैन। पार्टीको निर्णय कार्यान्वयन गरे भइहाल्यो नी।’

प्रचण्ड–नेपाल पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार ओलीलाई थप एक–दुई दिन कुर्ने र त्यसपछि पनि बैठक नबोलाए कार्यकारी अध्यक्षले बैठक बोलाउने संभावना पनि रहेको बताए।

‘आज दुई अध्यक्षबीचको छलफल खासै विषयकेन्द्रित भएन,’ ती स्थायी कमिटी सदस्यले भने, ‘अब फेरि सहमतिका लागि एक–दुई दिन हेर्ने र नभए पार्टी कमिटीको बैठक बोलाउनुपर्ने हुनसक्छ।’

बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई राजीनामा गराउने प्रयत्न भएको तर आफूले कुनै हालतमा राजीनामा नदिने बताएका थिए।

बुधबार नै ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई साथमै राखेर प्रदेश १ का केही आफूनिकट नेताहरुसँग एक भर्चुअल बैठक गरेका थिए।

ती दुवै विषयबारे पनि बिहीबारको भेटमा प्रचण्डले ओलीलाई सोधेका थिए। जवाफमा प्रधानमन्त्रीले प्रचण्ड पक्षले पनि गुटको बैठक तथा भेलाहरु राखेकोबारेमा आफूलाई जानकारी भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad