ad ad

राजनीति


टेलिफोनमा ओलीको प्रस्ताव प्रचण्डले फेरि अस्वीकार गरे

टेलिफोनमा ओलीको प्रस्ताव प्रचण्डले फेरि अस्वीकार गरे

सागर न्यौपाने
कात्तिक १८, २०७७ मंगलबार १६:३३,

सत्तारुढ नेकपाको विवाद दुई अध्यक्षबीच सहमति गरेर मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन्।

सोमबार साँझ ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको थियो। प्रधानमन्त्री ओलीले पहिला दुई अध्यक्ष सहमति गर्ने अनि मात्र पार्टी कमिटीको बैठक बोलाउन गरेको प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेको उनीनिकट एक नेताले बताए।

‘प्रधानमन्त्रीले पहिला तपाईं र म छलफल गरेर सहमति गरौं अनि पार्टी कमिटीको बैठक राखौँला भन्ने प्रस्ताव राख्नुभएको थियो,’ ती नेताले भने, ‘अध्यक्ष प्रचण्डले जे जति सहमति गर्नुछ, कमिटीकै बैठकबाट गरौं। त्यसो गर्दा विधि र प्रक्रिया पनि मिचिँदैन भन्नुभएछ।’

प्रधानमन्त्री निकट स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि दुई अध्यक्षबीच टेलिफोन संवाद भएको बताए। उनले दुई अध्यक्षबीच सहमति नभई केही नहुने स्पष्ट पारे।

‘हाम्रोमा अहिलेसम्म स्थापित सिस्टम र प्रक्रिया भनेकै दुई जना अध्यक्षको बीचमा सहमति, अनि त्यो सहमतिको आधारमा सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने हो। दुईटा पार्टीका निर्वाचित अध्यक्ष दुईटा पार्टीलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो,’ नेम्वाङले नेपालखबरसँग भने, ‘उहाँहरुले एकताको घोषणा गर्नुभएको हो, सचिवालय, स्थायी र केन्द्रिय कमिटी सबै उहाँहरुले मनोनित गरेको हो। हामीले सबैले त्यसलाई स्वीकार ग¥यौँ।’

‘एकताको महाधिवेशन गर्ने पनि उहाँहरुले सहमति गर्नुभयो, त्यही कुरालाई हामीले विधानमा पनि राख्यौं,’ उनले थपे, ‘त्यो एकताको महाधिवेशन सम्पन्न नहुँदासम्म विधि प्रक्रिया भनेको यही हो। जब एकताको महाधिवेशन हुन्छ त्यसले एउटा निर्णय गर्छ, त्यसपछि यो सम्पूर्ण प्रक्रिया समाप्त भएर महाधिवेशनले तोकेअनुसारको काम कारवबही अगाडि बढ्छ। त्यतिबेलासम्म दुई अध्यक्षले सहमति गर्छन्। त्यही सहमति अनुसार हामी अगाडि बढ्छौं।’

उनले दुई अध्यक्षबीच सहमति नभए प्रक्रिया नै रोकिने बताए।

‘पार्टी कमिटीमा कुनैपनि तयारी नगरी, सहमति नगरी जाँदा के हुन्छ भन्ने त हामीले स्थायी कमिटिको बैठकबाटै भोग्यौं नि,’ नेम्वाङले थपे, ‘अब त निष्कर्षमा सबैजना पुगेको हुनुपर्छ, त्यसबेला अध्यक्ष प्रचण्डले पनि तयारी नगरी, सहमति नगरी कमिटीको बैठकमा जाँदा के हुँदो रहेछ भन्ने कुरा हामीले भोग्यौं भनेर बोल्नुभएको थियो।’

तर, प्रचण्डनिकट नेताहरु भने अब हरेक सहमति र निर्णय पार्टी कमिटीको बैठकबाटै गर्नुपर्नेमा छन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली र प्रचण्डबीच टेलिफोन संवाद भएपनि बुधबार भेटको टुंगो नलागेको बताए।

प्रधानमन्त्रीले पहिला दुई अध्यक्षबीच सहमति गरेर मात्र पार्टी कमिटीको बैठक राख्न गरेको आग्रहबारे प्रवक्ता श्रेष्ठले भने, ‘निर्णय पहिला गरेर अनि बैठक राख्ने भन्ने कुरा त के हुन्छ र? सबै कुराको छलफल त बैठकमै गर्नुप¥यो नि। उहाँहरुको बीचमा सहमति भएपनि नभएपनि बैठक त राख्नैप¥यो नि।’

बैठक राख्ने विषयमै दुई अध्यक्षबीच सहमति नजुटेको श्रेष्ठको भनाइ छ।

‘प्रचण्डले बैठक राखौं भन्नुभएको छ, उहाँ (प्रधानमन्त्री) ले नराखौं भनिराख्नुभएको छ, बैठकमा के गर्ने? पहिले नै सहमति हुनुप¥यो भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। तर, त्यस्तो हुँदैन,’ उनले भने।

पार्टीका बैठकमै छलफल नगरी दुईजना अध्यक्षले मात्र सहमति गरेर नहुने श्रेष्ठ बताउँछन्।

‘सहमति भनेको झिनामसिना सबै कुरामा हुने होइन। कमिटी छ, दुईटा अध्यक्षले मात्रै सहमति गरेर हुने हो भने कमिटी जम्मै भंग गरिदिए भयो,’ उनले भने, ‘केन्द्रीय समिति चाहिएन, स्थायी समिति पनि चाहिएन र सचिवालय पनि चाहिएन। कमिटीको के काम त्यसो भए! कमिटीमा पो छलफल भएर सहमति हुनुप¥यो त। दुईटा अध्यक्षबीचमा सहमति भए त धेरै राम्रो हो। तर उहाँहरुको बीचमा सहमति भए हुने नत्र नहुने भन्ने हुँदैन।’

शनिबार बालुवाटारमा छलफल गरेका दुई अध्यक्षबीच कुरा मिल्नेगरी छलफल नै नभएपछि विवाद थप चर्किएको थियो। आइतबार प्रचण्डले बहुमत सचिवालय सदस्यहरुलाई आफ्नै निवास खुमलटारमा बोलाएर प्रधानमन्त्रीले पार्टी फुटाएर जान प्रस्ताव गरेको बताएका थिए। त्यसपछि नेकपाभित्रको दुई अध्यक्षको शक्ति संघर्ष उत्कर्षमा पुगेको नेताहरुले बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .