भारतको बिहार राज्यका मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ।
कुल ९४ संसद सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। मतदान स्थानीय समय अनुसार बिहान ७ बजे सुरु भएको हो।
कोरोना भाइरसको महामारीका बीचमा पनि बिहारमा निर्वाचन भइरहेको छ। पहिलो चरणको निर्वाचन यसअघि अक्टोबर २८ तारिखमा नै सम्पन्न भइसकेको छ। त्यस बेला ७१ सांसद सदस्यका लागि प्रतिस्पर्धा भएको थियो।
दोस्रो चरणको निर्वाचनका लागि दुई करोड ८६ लाख मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएका छन्। तीन चरणका निर्वाचनमध्ये सवैभन्दा धेरै मतदाता दोस्रो चरणका लागि रहेको आयोगले जनाएको छ।
दोस्रो चरणमा मतदान हुने निर्वाचनमा एक हजार ४६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। तीमध्ये भारतीय जनता पार्टीबाट ४६ जना, जनता दल युनाइटेडबाट ४३ जना, राष्ट्रिय जनता दल (आरजेडी) बाट ५६ जना र कांग्रेसबाट २४ जना उम्मेदबार रहेका छन्।
अन्य पार्टीहरुबाट र स्वतन्त्र रुपमा पनि अरु धेरै उम्मेदवारहरु चुनावी मैदानमा रहेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन्।
निर्वाचनमा सहभागी उम्मेदवारमध्ये पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको छोरा तेजस्वी यादव र तेज प्रतापको उम्मेदवारी बढी चर्चामा छन्।
तेजस्वीलाई महागठबन्धनको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवारका रुपमा पनि हेरिएकाले बढी चर्चा भएको हो। उनी रंंगपुरबाट उम्मेदवार भएका छन्।
दोस्रो चरणको मतदानमा बिहारका गर्भनर फागु चौहानले पटनाअन्तर्गत पर्ने डिघामा रहेको सरकारी विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा गएर मतदान गरेका छन्।
त्यसैगरी उप–मुख्यमन्त्री सुशील कुमार मोदीले राजेन्द्र नगरमा रहेको जोसेफ उच्च माध्यामिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्र नंं. ४९ मा मतदान गरेका छन्।

प्रतिक्रिया