सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकबीच शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज सोमबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच ४६ बर्ष लामो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दक्षिण कोरियाले हालै मनाएको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका राष्ट्रपति, सभामुख र कोरियाली जनतालाई बधाई दिएका थिए।
सापकोटाले हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुद्धको लडाईंंमा दक्षिण कोरियाले प्राप्त गरेको सफलताप्रति खुशी व्यक्त गर्दै महामारीकाबीच नेशनल एसेम्बलीको चुनाव सम्पन्न गरी विश्वलाई उदाहरण पेस गरेकोमा खुशी व्यक्त गरेका थिए।
सभामुखको सचिवालयका अनुसार उनले छोटो समयमै दक्षिण कोरियाले गरेको चामत्कारिक प्रगतिबाट आफू निकै प्रभावित रहेको चर्चा गर्दै त्यहाँको विकास मोडलबाट नेपालले पनि सिक्न चाहेको बताएका थिए।
सभामुख सापकोटाले दक्षिण कोरियाले कोइकामार्फत् नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि नेपाल कोरिया सम्बन्ध थप सुमधुर रहने विश्वास व्यक्त गरेका थिए।
‘नेपालका युवाको सिप विकासमा दक्षिण कोरियाले गरेको सहयोग सह्रानीय रहेको बताउँदै सभामुख सापकोटाले यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ट र प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो,’ सभामुखको सचिवालयले भनेको छ।
राजदूत पार्कले दक्षिण कोरियामा छोटो अवधिमा गरिएको विकासका आधारहरु अरु मुलुकहरुमा पनि बाँड्न चाहेको बताउँदै नेपालको विकासमा गर्न सकिने सहयोगका विषयमा छलफल भइरहेको बताएका थिए।
उनले नेपालको प्रदेश नं २ मा सीप हस्तान्तरणका लागि काम गरिरहेको जानकारी दिंदै जलवायु परिवर्तनको क्षेत्रमा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
राजदूत पार्कले दक्षिण कोरियाले नेपालमा कोरियन भाषाको पठनपाठनमा समेत सहयोग गर्न लागेको जानकारी गराएका थिए।
सभामुखका सचिवालयका अनुसार उनले त्यसबारे छिट्टै विस्तृत जानकारी गराउने योजना छ।
राजदूत पार्कले असोज ११ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
Shares

प्रतिक्रिया