नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको १६ बुँदे असहमतिबारे पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा छलफल सुरु भएको छ।
सोमबार बसेको बैठकमा चार जना नेताले आफ्ना धारणा राखेका छन्।
केन्द्रीय सदस्य मिनेन्द्र रिजालका अनुसार आजको बैठकमा उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महेश आचार्यले धारणा राखेका छन्।
‘बैठक फेरि भोलि पनि बस्छ’, रिजालले नेपालखबरसँग भने, ‘कोभिडको विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने कुरामा हामीबीच सहमति छ। मुख्य कुरा पार्टीमा देखिएको असहमतिकै विषयमा छलफल भएको छ, नेताहरुको धारणा राखेपछि एउटा निर्णय हुन्छ।’
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सोमबार दिउँसो बैठक बसेको हो।
बैठकमा वरिष्ठ नेता पौडेल, बरिष्ठ नेता सिटौला, उपसभापतिद्वय बिजयकुमार गच्छदार र बिमलेन्द्र निधि, महामन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, महामन्त्री पुर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, प्रकाशमान सिंह, रमेश लेखक, अर्जुननरसिंह केसी, मिलेन्द्र रिजाल, गोपालमान श्रेष्ठ, आन्नद प्रसाद ढुङ्गाना, ज्ञानेन्द्र बहादुर कार्की, रामशरण महत, बल बहादुर केसी, एनपी साउद, चन्द भण्डारी र गगन थापा लगायत करिब ३० जना थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक डाकेका हुन्।

प्रतिक्रिया