राजनीति


कर्णाली सरकारबाट ओली पक्षका मन्त्री हटाइँदै, मन्त्रिमण्डल पुनर्गठन गर्ने मुख्यमन्त्री शाहीको यस्तो छ तयारी

कर्णाली सरकारबाट ओली पक्षका मन्त्री हटाइँदै, मन्त्रिमण्डल पुनर्गठन गर्ने मुख्यमन्त्री शाहीको यस्तो छ तयारी

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ४:३०,

कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल आज आइतबार पुनर्गठन गर्ने तयारी गरिएको छ।

मन्त्रिमण्डल पुनर्गठनको विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वालासहितको समूहबीच छलफल जारी रहेको त्यहाँ उपस्थित एक नेताले बताए।

तत्काल मन्त्रिपरिषद् पुनर्गठन गरी दुई जनालाई हटाएर तीन जना थप्ने वा मुख्यमन्त्रीबाहेक पुरै मन्त्रीहर परिवर्तन गर्ने भन्ने विकल्पबारे छलफल भैरहेको एक केन्द्रीय सदस्यले बताए।

‘अहिले मुख्यमन्त्रीसहितका नेताहरु छलफलमा हुनुहुन्छ। छलफलबाट के निष्कर्ष निस्कन्छ त्यहिअनुसार पुनर्गठनको विषय निश्चित हुन्छ,’ नेताले भने, ‘अहिले दुईजना मन्त्री हटाएर तीनजना थप्ने की मुख्यमन्त्रीबाहेक सबैलाई परिवर्तन गर्ने भन्ने विकल्पमा छलफल भैरहेको छ। त्यसबारे सहमति जुटेपछि आजै मन्त्रिपरिषद पुनर्गठन हुने संभावना छ।’

मन्त्रिपरिषद् पुर्नगठन गर्नेगरी वरिष्ठनेता माधवकुमार नेपाल पक्षले यसअघि नै तीन जना नेतालाई मन्त्री बनाउन नाम प्रस्ताव गरिसकेको छ। सो पक्षले मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाही मध्येबाट मन्त्री बनाउन नाम दिइसकेको छ।

त्यसैगरी माओवादीबाट बिन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री बनाउने तयारी छ।

‘एकजना महिला मन्त्री बन्नु हुन्छ। सीता नेपाली वा अन्य कोही बन्ने संभावना छ,’ त्यसबारे जानकार एक नेताले भने।

प्रधानमन्त्री ओली पक्षका कर्णालीका नेता यमलाल कँडेलको नेतृत्वमा मुख्मयन्त्री शाहीविरुद्ध असोज २५ मा पार्टीको संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो।

सुरुमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन ओलीपक्षीय समूहलाई साथ दिएका नेपाल पक्षका सात जना सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएपछि शाहीविरुद्धको प्रस्ताव असफल भएको हो।

स्राेतका अनुसार प्रधानमन्त्री ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई मुख्यमन्त्री शाहीले हटाउने संभावना छ।

यसैबीच सामाजिक विकासमन्त्री रावलले सामाजिक सञ्जालमार्फत आफू मन्त्री मण्डलबाट हट्न लागेको संकेत गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु।’

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई यसअघि नै हटाइसकेका छन्। कर्णाली प्रकरणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल पक्ष एक ठाउँमा उभिएपछि ओली पक्ष अल्पमतमा परेको छ। पूर्वमाओवादी नेता महेन्द्रबहादुर शाही प्रचण्डनिकट हुन्।

कर्णाली प्रदेश सरकारमा देखिएको विवादले नेकपाको केन्द्रमा पनि शीर्ष नेताहरुबीच तिक्तता चुलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad