राजनीति


जो जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔँ: प्रधानमन्त्री

जो जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔँ: प्रधानमन्त्री

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार १:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले जो जहाँ छौं, त्यहीँ रहेर दसैं पर्व मनाउन आग्रह गरेका छन्।

हिन्दु नेपालीहरुको महान् चाड बडा दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना सन्देश दिँदै ओलीले सबैमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको कामना गरेका छन्।

ओलीले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको जनाएका छन्। ‘चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यकोसमेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन्’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्छ।’

कोरोना महामारीको यस विषम परिस्थितिम महान् चाड दसैंलाई विगतभन्दा फरक ढंगले मनाउनु पर्ने प्रधानमन्त्री ओलीले जोड दिएका छन्। ‘आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्नुपर्छ,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर दसैं मनाउन ओलीले सबैमा आग्रह गरेका छन्।

यसपालिको बडा दसैं, जो जहाँ जहाँ छौं,, त्यहीँ त्यहीँ रहेर मनाउन पनि प्रधानमन्त्रीले सबैसँग अनुरोध गरेका छन्। सङ्क्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको प्रधानमन्त्रीले जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad