स्पेनमा कोरोना महामारीको दोस्रो लहर फैलिएपछि त्यहाँ फेरि देशव्यापी संकटकाल घोषणा गरिएको छ।
आइतबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दोस्रो लहरको महामारीका कारण आइतबारबाट अतिरिक्त प्रतिबन्धहरु लगाउनुपरेको बताएका छन्।
यसअघि पनि स्पेन सरकारले यहि महामारी नियन्त्रणका लागि नै दुईपटक संकटकाल घोषणा गरेको थियो।
उनले मन्त्रिपरिषद्को बैठक राखेर सो निर्णय गरेको एपीलगायतका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।
संकटकाल घोषणा गरेपछि प्रशासनले कफ्र्युलगायतका प्रतिबन्धहरु लगाउन सक्नेछ।
यसअघि त्यहाँका अधिकांश क्षेत्रीय नेताहरुले दोस्रो संकटकालका लागि सहमति जनाएपछि प्रधानमन्त्रीले सो कदम चालेका हुन्।
संकटकाल लागेपछि त्यहाँको सरकारले संविधानमा सुनिश्चित गरिएका आवतजावत लगायतका स्वतन्त्रताका अधिकार समेतमा अस्थायी प्रतिबन्ध लगाउन सक्ने बताइएको छ।
स्पेनमा संक्रमित हुनेको संख्या यो हप्ता १० लाख पार गरेको छ। यो सरकारको रेकर्डमा समेटिएको भए पनि वास्तविक संक्रमितको संख्या ३० लाख हुनसक्ने बताइएको छ।
शुक्रबार मात्र त्यहाँ २० हजार थप संक्रमित भएका थिए भने २३१ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। त्यहाँ मृत्यु हुने संक्रमितको संख्या ३४ हजार ७५२ पार गरेको छ।
Shares

प्रतिक्रिया