नेताहरूको कार्यबिभाजन लगायतका निर्णय गर्न जनता समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी बैठक आज सोमबार बस्दैछ।
दिउँसो १२ बजेपछि बस्ने बैठकले नेता बाबुराम भट्टराई लगायतको जिम्मेवारी तोक्ने बताइएको छ।
उनलाई संघीय परिषद् अध्यक्ष बनाउन सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन्।
ललितपुरको च्यासलमा रहेको तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाहलमा हुने तय भएको सो बैठक दुई दिन चल्ने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।
तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि भट्टराई जसपामा वरिष्ठ नेता छन्।
नेताहरूबीच पार्टी एकता गर्ने बेला सहमति नजुटेपछी भट्टराईले वरिष्ठ नेता बसेर निर्वाचन आयोगमा जसपा दर्ता गराउन मार्ग प्रशस्त गरेका थिए।
तत्कालीन राजपा नेता महन्थ ठाकुर र समाजवादी पार्टीका उपेन्द्र यादव केन्द्रीय समिति अध्यक्ष रहने गरी त्यतिबेला आयोगमा दल दर्ता गरिएको थियो।
पाण्डेले नेताहरूको कार्यबिभाजनको बारेमा छलफल हुने र एउटा निर्णयमा पुगिने बताए।
‘अहिलेनै जिम्मेवारीको विषयमा यसै भन्न सकिन्न, छलफल कसरी हुन्छ हेरौं,’ पाण्डेले भने।

प्रतिक्रिया