राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उनीबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो।
राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोनलीले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाभाइरसका लक्षणहरु नदेखिएको र उनी पूर्ण स्वस्थ रहेको बताएका छन्।
अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोरानाभाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ। राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि व्यंज्ञ गर्दै आएका छन्।
ह्वाइट हाउसको शनिबार आयोजित सार्वजनिक समारोहमा पनि राष्ट्रपति ट्रम्पले मास्क लगाएनन्। तर उनका वरिपरि अरु व्यक्ति थिएनन्। कोरोना उपचारपछि उनी गत सोमबार ह्वाइट हाउस फर्किएका थिए।
राष्ट्रिय मत सर्वेक्षणमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि देखिएका ट्रम्पले अब विभिन्न राज्यमा चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम छ। अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ।
राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा सम्बोधन गरी मंगलबार र बुधबार क्रमशः पेन्सिलभेनिया र आयोवा राज्यमा चुनावी सभामा सम्बोधन गर्नेछन्। रासस/एपी
Shares

प्रतिक्रिया