कोरोना संक्रमणका कारण धुलिखेल नगरपालिका–११ पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको छ।
यससहित कोरोना संक्रमणका कारण काभ्रेपलाञ्चोकमा चार महिला र पाँच पुरुष गरी ९ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमण भएपछि ५२ वर्षीय ती पुरुषलाई दुई हप्ताअघि उपचारार्थ धुलिखल अस्पतालमा भर्ना गरिएको थियो। पुरुषमा ‘क्रोनिक अल्कोहलिक लिभर डिजिज’ समेत भएको अस्पतालले जनाएको छ। कोरोना संक्रमणका कारण उपचारका क्रममा आज बिहान ६ बजे अस्पतालमा उनको निधन भएको वडाध्यक्ष विष्णु धितालले बताए।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका ९५८ मा कोरोना संक्रमण देखिएको छ। कूल संक्रमितमध्ये नौको मृत्यु भएको छ भने ५८५ उपचारपछि घर फर्किएका छन्। तीन सय ६५ सक्रिय संक्रमितमध्ये ११० जना अस्पतालको आइसोलेसन र २५५ जना होम आइसोलेसनमा उपचाररत छन्।
यसैबीच काभ्रेपलाञ्चोकका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त अवस्थामा छन्। बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोनामुक्त भएका हुन्। हाल जिल्लाकै कूल सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी ३७ प्रतिशत अर्थात् १३५ संक्रमित बनेपा नगरमा छन्। सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा एक पुरुष छन्। हाल सक्रिय संक्रमितमध्ये धुलिखेलमा ११२, पनौतीमा १८, पाँचखालमा ३४, नमोबुद्धमा २६, मण्डनदेउपुरमा १०, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १० र महाभारत गाउँपालिकामा तीन छन्। रासस
–––
Shares

प्रतिक्रिया