प्रधानमन्त्रीकी निजी चिकित्सक र अफिसियल फोटोग्राफरमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीका सल्लाहकारहरु, उनको सचिवालयका सदस्य र सुरक्षाकर्मीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो।
गत साता प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह र अफिसियल फोटोग्राफर राजन काफ्लेमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि सचिवालयका सदस्य तथा सुरक्षाकर्मीको शुक्रबार स्वाब संकलन गरिएको हो।
उनीहरुको शनिबार रिपोर्ट आएको थियो। त्यसमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना पोजिटिभ देखिएको छ।
त्यसैगरी भट्टराई र थापाका सवारी चालकमा समेत कोरोना पोजिटिभ देखिएको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजागाईले निजी ल्याबबाट परीक्षण गराएका छन्।
‘एक साता जिल्लामा बसेर फर्केपछि स्वाब दिएको हो, तर मेरो हालसम्म रिपोर्ट आएको छैन,’ बजगाईले नेपालखबरसँग भने।
कामको सिलसिलामा काफ्ले र बजगाईं एकआपसमा बढी सम्पर्कमा रहने व्यक्तिहरु हुन्। तर काफ्लेको संक्रमण पुष्टि हुँदा बजागाईं भने गृहजिल्ला काभ्रेमा थिए।
बजगाईंका अनुसार प्रधानमन्त्री ओलीको बुधबार स्वाब संकलन गरिएको र त्यसको बिहीबार नेगेटिभ रिपोर्ट आएको छ।
‘बुधबारपछि सल्लाहकारहरुले प्रधानमन्त्रीलाई भेट्नु भएको छैन,’ बजगाईले भने, ‘बुधबार प्रधानमन्त्रीको स्वाब संकलन गरिएको थियो र बिहीबार रिपोर्ट नेगेटिभ आएको हो।’
याे पनि: प्रधानमन्त्रीका तीन सल्लाहकार र एक स्वकीय सचिवमा काेराेना संक्रमण
बजागाईंले प्रधानमन्त्री ओलीसँग सधै साथमा रहने सचिवालयका सदस्य राजेश शाक्य र दीपेन्द्र दाहालको पनि बुधबार नै स्वाब संकलन गरिएको र बिहीबार रिपाेर्ट नेगेटिभ आएको हो। प्रधानमन्त्रीसँग व्यक्तिगतरुपमा धेरै नजिक रहेर काम गर्नुपर्ने व्यक्ति हुन् शाक्य। उनी संक्रमण हुनबाट बचेका छन।
‘स्वास्थ्यका कारण कोरोना महामारी सुरु हुनुअघि देखिनै प्रधानमन्त्रीले विशेष सतर्कता अपनाएर भेटघाट गर्ने बानी छ। त्यो अभ्यास कोरोना महामारी सुरु भएपछि झनै कडा पारिएको छ,’ बगजाईंले नेपालखबरसँग भने।
दुईपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले कोरोना नभएका बेला समेत अन्य संक्रमणबाट जोगिनका लागि पनि नियमितरुपमै विशेष सतर्कता अपनाउने गरेका छन्।
कोरोना पोजिटिभ देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले होम आइसोलेसनमा रहेको प्रेस सल्लाहकार थापाले बताए।
सचिवालयका तीन सल्लाहकार र एक स्वकीय सचिवलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री सचिवालयमा काम ठप्प हुने अवस्थामा पुगेको छ।
‘भर्खरै रिपोर्टहरु आएको छ। अब कसरी व्यवस्थापन गर्ने हो त्यो विषयमा पनि छलफल हुन्छ,’ बजगाईंले भने।
बालुवाटारमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनै तर्फका सुरक्षा निकायका छुट्टाछुट्टै ब्यारेक र खानाका मेस सञ्चालनमा छन्।
याे पनि: प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण, टोली फेर्न सुरु
बजगाईंले बालुवाटारको सुरक्षामा खटिएका सुरक्षाकर्मीमध्ये संक्रमित भएकाहरुको संख्या एकिन भइनसकेको बताए।
‘संक्रमणको विषयमा जानकारी आउँदा व्यक्तिगत र गोप्य रुपमा आउँछ। सुरक्षाकर्मीतर्फ कति संक्रमित भए भन्ने विषयमा पुरै विवरण प्राप्त भइसकेको छैन,’ बजगाईंले भने।
उनले कोरोना संक्रमण बढेपछि निकै सतर्कता अपनाइएको भए पनि कहाँबाट प्रवेश भयो त्यो जानकारी हुन नसकेको बताए।

प्रतिक्रिया