ad ad

राजनीति


महात्मा गान्धीलाई यसरी सम्झे कांग्रेस नेता सिंहले

महात्मा गान्धीलाई यसरी सम्झे कांग्रेस नेता सिंहले

नेपालखबर
असोज १५, २०७७ बिहिबार ११:५०,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र भारतको सम्बन्धलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लैजानु नै महात्मा गान्धीप्रति सच्चा सम्मान हुने बताएका छन्।

बिहीबार नीति अनुसन्धान प्रतिष्ठानले महात्मा गान्धीको १५१औं जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजना गरेका कार्यक्रममा बोल्दै नेता सिंहले दुई देशबीचको सम्बन्ध सुमधुर गर्नु नै गान्धीप्रति सच्चा सम्मान ठहर्ने बताएका हुन।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘ नेपाल र भारतको सम्बँन्धलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लग्यो भने महात्मा गान्धीलाई सच्चा सम्मान गरेको ठहर्नेछ।’

त्यस्तै उनले अहिंसाको माध्यमबाट जनताले अधिकार प्राप्त गर्न सक्छन् भनेर बाटो देखाउने व्यक्तिका रुपमा विश्वले गान्धीको स्मरण गर्ने पनि बताए। अत्यन्त चमत्कारिक, असल र ठूलो नेताका रुपमा विश्वले गान्धीलाई चिन्ने गरेको भन्दै उनले गान्धीको वैश्विक आयामका बारेमा चर्चा गरेका थिए।

सो क्रममा नेता सिंहले ०४२ सालमा सत्याग्रहमा सरिक भएर जेल गएको व्यक्तिको नाताले एउटा सत्याग्रहीका रुपमा गान्धीका बारेमा बोल्न पाउनुलाई अवसरका रुपमा लिएको पनि बताए। चरित्र र नैतिकताले ठूलो शक्तिलाई पनि परास्त गर्न सकिन्छ भन्ने उदाहरण गान्धी भएको पनि भन्दै उनले तुलसीमेयर श्रेष्ठकै माध्यमबाट नेपालीका बारेमा गान्धीले जानकारी लिएको बताए।

भारतमा स्वतन्त्रता संग्राम आन्दोलनमा लागेका नेताहरुलाई मनको भय हटाउन सक्नुपर्छ भनेर गान्धीले भनेको कुरा आफ्ना पिता गणेशमान सिंहले स्मरण गर्ने गरेको पनि उनले सुनाए। कांग्रेसका संस्थापक नेताहरु गणेशमान सिंह र किसुनजीले १९४७ मा कलकत्ताको वीरला धर्मशालामा गान्धीलाई भेटेको पनि सिंहले स्मरण गरे।

बीपी कोइराला जेलमा रहेको र क्यान्सरका कारण जीवन धरापमा परेकाले सो क्रममा किसुनजी र गणशमानजीले गान्धीलाई भेटेर बीपीको उपचारका लागि रिहा गर्न पद्म शमशेरलाई चिठी लेखाउनका लागि गान्धीसँग भेट गरेका थिए। डा. राममनोहर लोहियाको सिफारिसमा गान्धीले समय दिएर भेट गरेको र पत्र त लेख्दिउँला कसले लैजान्छ नेपाल? भनेर गान्धीले सोध्नुभएको र किसुनजीले म लैजान्छु भनेको सन्दर्भ पिताबाट आफूले सुनेको र पिताले आफ्नो पुस्तकमा समेत विस्तृतमा लेखेको पनि उनले बताए। गान्धीले आफ्नो पत्र लिएर नेपाल कोही आउनेबारे नेपालमा तार पठाएलगत्तै बीपी कोइराला रिहा भएकाले गान्धीले पत्र पठाउनु नपरेको उनले बताए।

०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्रीको पद त्यागेका गणेशमान सिंहले गान्धीजी बराबर हुनका लागि प्रधानमन्त्रीको पद त्यागेको होइन भनेर भन्ने गर्नुभएको सन्दर्भ पनि सिंहले कार्यक्रममा सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .