राजनीति


प्रधानमन्त्रीको निर्देशनअनुसार अयोध्याधामका लागि छुट्याइयो एक सय विघा जग्गा

प्रधानमन्त्रीको निर्देशनअनुसार अयोध्याधामका लागि छुट्याइयो एक सय विघा जग्गा

नेपालखबर
असोज १४, २०७७ बुधबार २:१२,

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ।

मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै एक सय बिघा जग्गा छुट्याएको हो।

नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको जानकारी दिए।

‘हामीले छुट्याएको जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको छ,’ मेयर ढकालले भने।

अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माण छिट्टै अघि बढ्ने जानकारी दिए।

‘प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ,’ उनले भने। काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने ढकालले बताए।

माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर रहेको बताइन्। अयोध्याधाम निर्माण हुने भएपछि सबै माडीवासी उत्साहित छन्।

माडी–७ का केही स्थानीयवासीले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरिसकेका छन् । अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो।

माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad