नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्ला दिनमा संवैधानिक निकायका निर्णय र कृयाकलापबाट जनता निराश भएका बताउँदै ती निकायमा समाजका विश्वसनीय व्यक्तिलाई नियुक्त गर्नुपर्ने बताएका छन्।
देश र जनतालाई सुशासन दिलाउन अख्तियार लगायतका संवैधानिक निकायको निष्पक्षता, तटस्थता र स्वतन्त्रता अपरिहार्य रहेको पौडेलको भनाइ छ।
‘त्यसका लागि संविधानले तोकेको मापदण्डबाट यताउति नगरी संवैधानिक परिषदले समाजका विश्वसनीय र भरपर्दा व्यक्ति खोजेर आयोगहरुका प्रमुख आयुक्त र आयुक्तहरु नियुक्त गर्नु पर्छ,’ पूर्व सभामुख समेत रहेका पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री, विपक्षी दलको नेता वा सभामुखले आफ्नै अनुकूलका मान्छे खोज्न लाग्ने हो भने आयोगहरुको औचित्य रहन्न।’
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे छलफल चलिरहेका बेला कांग्रेसका वरिष्ठ नेता पौडेलले यो धारणा सार्वजनिक गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत थुप्रै संवैधानिक निकायहरुमा प्रमुख र सदस्यहरुको पद रिक्त छन्।
त्यसबारे प्रधानमन्त्री ओली, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालगायत प्रमुख नेताहरुबीच केहि दिनयता व्यापक छलफल वार्ता जारी छ।
Shares

प्रतिक्रिया