आइतबार चिनियाँ रक्षा मन्त्रालयले अेमरिका अन्तर्राष्ट्रिय व्यवस्था र विश्व शान्तिको लागि ठूलो खतरा भएको बताएको हो।
अमेरिकी रक्षा विभागले गत सेप्टेम्बर २ मा निकालेको प्रतिवेदनलाई प्रतिक्रिया जनाउँदै चीनले अमेरिकाले विश्व शान्तिलाई धरापमा पारेको आरोप लगायो।
उक्त प्रतिवेदनमा भनिएको थियो,‘चिनियाँ सैन्य घटनाक्रम र चीनको लक्ष्यलाई मध्यनजर गर्दा चीनले अमेरिकी चासो, सुरक्षा तथा अन्तर्राष्ट्रिय व्यवस्थामा गम्भीर असर पार्नेछ।’
यस्तै हालै पेन्टागनले चीनले आफ्नो आणविक हतियारलाई दोब्बर बनाउने लक्ष्य राखेको पनि बताएको थियो।
यसबीचमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले भनेका छन्,‘धेरै वर्षको प्रमाणले यो देखाउँछ कि अमेरिका नै क्षेत्रीय अशान्ति निम्तनुको कारक हो, अन्तर्राष्ट्रिय व्यवस्थाको उल्लंघनकर्ता र विश्व शान्तिको विनाशक हो।’
उनले अमेरिकी कार्यले इराक, सिरिया, लिबिया लगायतका देशमा गएको दुई दशकमा ८ लाखभन्दा बढीले ज्यान गुमाएको पनि बताए।
‘आफ्नो गल्तीलाई स्वीकार नगर्ने अमेरिकाले एक तथाकथित रिपोर्ट जारी गर्यो जसले चीनको सामान्य रक्षा निर्माणको बारेमा गलत टिप्पणी गर्यो’ उनले भनेका छन्,‘हामी अमेरिकालाई चीनको राष्ट्रिय रक्षा र सैन्य निर्माण वस्तुनिष्ठ र तर्कसंगत रुपमा हेर्न तथा झूठा बयानहरू र सम्बन्धित प्रतिवेदनहरू बन्द गर्न साथै द्विपक्षीय सैन्य सम्बन्धको स्वस्थ विकासको रक्षा गर्न ठोस कदम चालियोस् भन्ने आग्रह गर्दछौं।’ वासिङ्टन टाइम्स

प्रतिक्रिया