इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अल–एल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ।
अमेरिकी प्रशासनको पहलमा इजरायल र युएईबीच यही अगष्टको शुरुमा कुटनीतिक सम्बन्ध स्थापना गरिएसँगै दुबै देशबीच सम्बन्ध सामान्यीकरणका लागि विभिन्न क्षेत्रमा नयाँनयाँ योजना अघि सारिएका छन्।
इजरायलसँग कुटनीतिक सम्बन्ध राख्ने युएई तेस्रो अरब राष्ट्र हो। यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले कुटनीतिक सम्बन्ध राखेका थिए। युएईसँग इजरायलको आजसम्म युद्ध भएको छैन।
यो पनिः
इजरायल र यूएईबीच ऐतिहासिक सम्झौता
यूएईले इजराइललाई बहिष्कार गर्ने कानुन हटायो, अब कुटनीतिक सम्बन्ध गाँसिने
अबुधाबीतर्फ प्रस्थान गरेको बिमानमा सवार अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ट सल्लाहकार एवं ज्वाइँ जारेड कुश्नर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायन, मध्यपूर्वका लागि अमेरिकी विशेषदूत अभि बर्कोविज र इरानका लागि अमेरिकी विशेषदूत ब्रायन हुक रहेका छन्।
इजरायली प्रमण्डलमा भने राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–शाबात र विभिन्न मन्त्रालयका महानिर्देशकहरु छन्। दुबै प्रमण्डलले युएईका एमिरातसँग भेटघाट गर्नेछ।
बिमानमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै जारेड कुश्नरले यस ऐतिहासिक उडानमा रहभागी हुन पाएकामा आभार व्यक्त गर्दै मध्यपूर्व समेतका अरु देशसँगको सम्बन्ध विकास गर्न यो ऐतिहासिक प्रस्थानविन्दु हुने विश्वास व्यक्त गरे। रासस/एपी

प्रतिक्रिया