खेल


किन मेटिन्छ ‘ए’ डिभिजन फुटबल क्लबको अस्तित्व?

किन मेटिन्छ ‘ए’ डिभिजन फुटबल क्लबको अस्तित्व?

नेपालखबर
भदौ १५, २०७७ सोमबार ९:३२,

विश्व फुटबलमा शीर्ष डिभिजनको लिग राष्ट्रिय टोलीको मेरुदण्डको रुपमा हेरिन्छ। नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको अभ्यास छ। पछिल्लो पटक १४ क्लबले लिगमा सहभागिता जनाउँदा एउटा क्लब ‘बी’ डिभिजनमा घटुवा भयो। घटुवा भएका क्लब शीर्षमा फर्किएको विरलै उदाहरण छन्।

लिगको पुछारमा रहेपछि सरस्वती युथ क्लब हालसालै सम्पन्न ‘ए’ डिभिजिन लिगबाट ‘बी’ डिभिजनमा घटुवा भयो। १३ औं चरणको खेल सकिँदा टोलीले एक जित र एक बराबरी खेलेको थियो भने ११ खेलमा सरस्वतीले नतिजा सुम्पिएको थियो। त्यसपछि दशक लामो ‘ए’ डिभिजनको अस्तित्व सरस्वतीले गुमाउन पुग्यो। सुरुआतबाट नै लिगमा कमजोर देखिएको सरस्वतीलाई १३औं चरणका खेलसम्म आइपुग्न निकै धौ धौ भयो। यसमा क्लबका थुप्रै पदाधिकारीहरू दुःखी छन्।

सरस्वती पछिल्लो लिगको उदाहरण हो। तर यस्ता क्लब धेरै छन्। ती मध्येको भक्तपुरको मध्यपुर युथ अहिले ‘ए’ डिभिजन लिगबाट हराइसकेको छ। मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले कुनैपनि क्लब शीर्ष डिभिजनमा रहिरहन आर्थिक पाटो महत्वपूर्ण हुने बताए। आर्थिक पाटोमा कमजोर हुँदा क्लबले उत्कृष्ट खेल खेल्न नसक्ने र शिर्ष डिभिजनको अस्तित्व समेत गुमाउनुपर्ने अवस्था आउने सिंहले बताए।

कुनैपनि नेपाली क्लब दोस्रो डिभिजनमा झर्‍यो भन्दा पनि किन पुनः शिर्ष डिभिजनमा फर्किन सक्दैनन् भन्ने हो। फुटबलको इतिहासमा रेलिगेसनमा झरेका अधिकांश क्लब फेरि उक्लन सकेका छैनन्।

उनीहरूको अस्तित्व समाचारमा मात्र सिमित हुने गरेको छ। एक जमानामा अन्नपूर्ण, सुनाखरी, महाबीर, नोर्बुलिङ, लालुपाते टिम, नक्साल खेलमण्डल, काठमान्डू क्लब, बौद्ध, ब्वाइज स्पोट्र्स, स्वयम्भू, कोइलापानी, सुन्धारा, ज्ञानेश्वर, बालकुमारी, नघल टोल टिम जस्ता क्लबले ‘ए’ डिभिजनका खेल खेलेका थिए। अहिले नाम सुन्दा अचम्म लाग्छ। तर यी क्लबहरू अहिले अस्तित्वमा छैनन्।

रानीपोखरी कर्नर टिम (आरसीटी), न्युरोड टिम (एनआरटी) र संकटा जस्ता क्लबमा विभिन्न उप क्लब पनि थिए। धेरै खेलाडी भएकाले त्यस अन्तर्गतका हाँगा क्लबहरूले लिगमा प्रतिस्पर्धा गर्थे। ती सबै क्लब ‘बी’ डिभिजनमा घटुवा भएपछि विलिन भए। आरसीटीका सातवटा क्लब थिए भने संकटाको सेतो र रातोगरी दुई टोली थिए।

यस्तै एनआरटीसँग योङ एनआरटी पनि थियो। अहिले यी क्लबमा मुस्किलले टोली पुग्छ।

‘बी’ डिभिजनमा झरेसँगै उठ्न नसक्नुको कारण नयाँ क्लबहरुको उदय र लगानी कर्ताको इच्छामा नयाँ क्लब देखिएको बताँउछन् फुटबल विश्लेशक सञ्जीब मिश्र।

विदेशी अभ्यासलाई नियाँल्दा घटुवा भएको फुटबल क्लब शीर्ष डिभिजनमा फर्किन दिन रात मेहनत गर्छन। त्यस्ता क्लबले खेल भावना विपरित हुने कुनै पनि विषयलाई सुस्म निगरानी गर्दछ। तर नेपालमा भने यस विषयमा खासै चासो देखिँदैन।

आपसी दोषारोपणमा क्लब पदाधिकारी फाट्छन् र आबद्ध खेलाडी नयाँ क्लबको खोजीमा भौतारिने प्रवृतिले क्लबको नाम मेटिने गरेको तीतो सत्य हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad