पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको टिप्पणी गरेका छन्।
पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माणसम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भएको उनले बताए।
पछिल्ला दुई घटनाले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको थापाको बुझाइ छ।
नेपाल भारतबीच सीमा विवादका विषयमा विवाद रहेको र नेपालले कुराकानी गर्न भारतलाई पत्राचार गरेको विषयमा भारतले बेवास्ता गरिरहेका बेला एउटा संयन्त्रको छलफल हुनु र प्रधानमन्त्री स्तरमा पनि टेलिफोन वार्ता हुनुले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको धारणा डा. थापाले राखेका छन्।
उनले संवादको सुरुवात मात्रै नभई समझदारीको नयाँ आधार खडा भएको समेत बताए।
भिडियाे:
थापाले भने ‘दुई देशको विकास निर्माणसम्बन्धी निकायको ढिलासुस्ति भयो, काम भएन भन्ने गुनासो नेपालमा बराबर भएको हो। त्यसलाई सम्बोधन गर्नका लागि नेपालको परराष्ट्र सचिव र भारतका राजदूतले वार्षिक बैठक गरेर समीक्षा गर्ने र अगाडि बढाउन के गर्न सकिन्छ भन्नेमा सम्बोधन गर्ने जुन निकाय थियो त्यसको बैठक भएको हो यो,’ उनले भने, ‘त्यसलाई पनि हेर्दा संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको संकेतको रुपमा हामीले लियौं।’
यस अगाडि कुनै प्रकारको औपचारिक भेटघाट र संवाद नभएका बेला पछिल्ला घट्नाक्रम सकारात्मक भएको उनको भनाइ छ।
‘भारतको स्वतन्त्रता दिवसको अवसरमा दुई प्रधानमन्त्रीबीच वार्ता हुने र वार्तामा भनिए नभनिएपनि दुई देशको सम्बन्धमा भएको संवादहीनतालाई सर्वोच्च तहमा तोडिएको मात्र होइन भएका समस्याहरुको समाधान वार्ताबाट गर्ने भन्ने किसिमको आभास पनि भएको हो,’ थापाले भनेका छन्, ‘त्यसले गर्दा जुन एउटा अप्ठेरोपनले संवादहीन परिस्थिति सृजना भएको थियो त्यसो भएकाले संवादको सुरुवात सीमित रुपमा विकास निर्माणको आयोजनाहरुको समालोचना गर्ने र त्यसपछि दुई प्रधानमन्त्रीबीच सम्बन्ध भएकोले गर्दा संवादको सुरुवात मात्रै होइन समझदारीको पनि नयाँ आधार खडा भएको छ की भन्ने कुरा बुझ्न सकिन्छ।’
सीमा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेका बेला सोमबार नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राबीच विकास परियोजनालाई तिब्रता दिनेबारे वार्ता भएको हो।
यसअघि गत शनिबार भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको थियो।
याे पनि:
नेपाल–भारत बैठक : भारतले भूकम्पपीडितलाई बनाउने भनिएको ५० हजार घरमध्ये ४६ हजार बने
बैरागी र क्वात्राको नेतृत्वमा नेपाल–भारत अनुगमन संयन्त्रको बैठक हुँदै

प्रतिक्रिया