काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ठूला नेताहरुले धमाधम आन्तरिक भेटघाट, भेला र निर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन्।
पछिल्ला दिनमा उच्चपदस्थहरुको सम्पर्कमा रहेका व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि उनीहरुले शुक्रबारदेखि नियमित कार्यक्रम स्थगित गर्न थालेका हुन्।
सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन साउन ७ गते हटाएको थियो। त्यसयता नेता, प्रहरीका उच्च अधिकारी, सेना, सरकारी कर्मचारीहरुमा तीव्र रुपमा संक्रमण देखिएको छ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुक्रबारदेखि सबै निर्धारित कार्यक्रम स्थगित गरेका हुन्।
आफ्ना सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि नेकपा अध्यक्ष प्रचण्डले शुक्रबारदेखि सबै खालका भेटघाट र छलफल बन्द गरेका छन्। उनका सुरक्षाकर्मीलाई बिहीबार कोरोना पुष्टि भएको थियो।
प्रचण्डको परिवारका अन्यमा संक्रमण नभएपनि सुरक्षामा खटिएका प्रहरीमा संक्रमण देखिएपछि उनले भेटघाट स्थगित गरेको उनको सचिवालयले जनाएको छ।
उनले आफ्नो सचिवालय टोलीलाई पनि खुमलटारस्थित निवास नआउन सन्देश पठाएका छन्।
‘अध्यक्ष प्रचण्डको निर्धारित केही छलफलका कार्यक्रम स्थगित भएको छ,’ प्रचण्डको सचिवालयले भन्यो, ‘केही दिनपछि अवस्था हेरेर तय गरिनेछ।’
प्रचण्डको निरन्तर सम्पर्कमा रहने एक नेताले आफू पनि पीसीआर परीक्षण नगरी बाहिर भेटघाट नगर्ने बताए।
‘अध्यक्ष प्रचण्डलाई भेट्न म नियमित जाने गर्थेँ,’ ती नेताले भने, उहाँको सुरक्षाकर्मीलाई संक्रमण देखियो अब केहीदिन खुमलटार जान्नँ, कोरोना परीक्षण गराएर मात्रै अब बाहिर निस्कन्छु।’
कांग्रेसका शेरबहादुर देउवाले पनि भेटघाट कम गरेका छन्।
‘महाधिवेशनको समय भएकोले सबै भेटघाट बन्द गरिएको छैन,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘आजसम्म एकएक जनाको दरले भेट भइरहेको छ, परिस्थिति हेरेर त्यो पनि बन्द हुनसक्छ।’
नेकपाका वरिष्ठ नेता खनालले पनि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरेका छन्।
‘उहाँका तय भएका सबैखालका छलफल र भेटघाट आजदेखि बन्द गरिएको छ,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले नेपालखबरसँग भने, ‘अत्यावश्यक, फोनबाट गर्न असम्भव हुने कामको लागि पनि सुरक्षा विधि अपनाएर मात्रै भेट गर्नुहुनेछ।’
खनालले नेपालमा कोरोना सुरु भएदेखि आफ्नो घरमा भेटघाटका कार्यक्रम राखेको थिएनन्।
नेकपाकै अर्का वरिष्ठ नेता नेपालले पनि संक्रमणको जोखिमले सबैखालका कार्यक्रम स्थगित गरेका छन्।
‘पहिले नै तय भइसकेका केही भेटवार्ता, भेला र छलफलका सबै कार्यक्रम स्थगित गर्नुभएको छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले भने।
बिहीबार प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको थियो।
प्रहरी प्रधान कार्यलयमै ८५ प्रहरीलाई कोरोना देखिएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सबैखाले भेटघाट बन्द गरेका छन्।
प्रहरी हेडक्वाटरमा त्यहाँभित्रका प्रहरीबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ।
सिंहदरबार प्रवेशमा समेत सरकारले कडाइ गरेको छ। अब सरकारी कर्मचारीबाहेक कुनैपनि पास लिएर सिंहदरबार प्रवेश गर्न पाइने छैन।
कोरोना संक्रमण बढ्दै गएपनि जनता समाजवादी पार्टी (जसपा)ले भने पार्टीको कार्यकरिणी बैठक राखिरहेको छ।
तीनदिनदेखि ललितपुरको च्यासलमा जारी बैठक एक महिनाअघि नै तय भएको नेताहरुले बताए।
समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) एकतापछिको पार्टीको बैचारिक लाइन र नेताहरुको जिम्मेवारी निर्णय गर्नुपर्ने भएकोले बैठक स्थगित गर्न नसकेको जसपाका नेता केशव झाले बताए।
‘भौतिक दूरी र सुरक्षाका सबै विधि अपनाएर बैठक राखेका छौं,’ उनले भने।
जसपाका नेता डा. बाबुराम भट्टराईले गाडीमा हिँड्दा समेत भौतिक दूरी कायम गरेको उनका सहयोगी रोशन पोखरेलले बताए।
उहाँले गाडीमा हिँड्दा पनि भौतिक दूरी राख्नुभएको छ,’ पोखरेलले भने, ‘पहिले नै तय भएको बैठक भएकोले उच्च सतर्कतासहित बैठक राखिएको हो, आजै मध्यराति सक्ने तयारी छ।’

प्रतिक्रिया