ad ad

राजनीति


नेकपा विवाद नयाँ चरणमा : ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने

नेकपा विवाद नयाँ चरणमा : ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने

नेपालखबर
साउन १२, २०७७ सोमबार ८:४५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद बहुमतीय प्रक्रियामा जाने देखिएको छ।

साउन ६ गते एक हप्ताका लागि स्थगित गरिएको नेकपाको स्थायी समिति बैठक मंगलबार बस्दैछ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि औपचारिक रुपमा दुई अध्यक्षबीच सहमति हुन नसकेपछि बहुमतीय प्रक्रियामा जाने देखिएको हो।

वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको बैठकबाट कुनै निर्णय नभए बहुमतीय प्रक्रियाका आधारमा निर्णय गर्ने बताए।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पदबाट राजीनामा नदिए बहुमतीय प्रक्रियाका आधारमा निर्णय गरिने उनको भनाइ छ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा प्रचण्डको अध्यक्षतामा बैठक अगाडि बढाउने समझदारी भएको खनालले बताए।

‘भोलिको लागि तय गरिएको बैठक बस्छौं’, सोमबार दिउँसो नेपालखबरसँग कुरा गर्दै खनालले भने, ‘पार्टी एउटा निर्णयमा पुग्नैपर्ने हुन्छ, त्यसमा बहुमतको कुरा मान्नैपर्ने हुन्छ।’
उनले मंगलबारका लागि तय गरिएको बैठक निर्णायक हुनसक्ने पनि बताए। ‘पहिला छलफल हुन्छ, त्यसमा कुनै सहमति नभए नयाँ निर्णय गरेर जानुपर्छ’, उनले भने, ‘त्यसका लागि परिस्थिति हेरेर निर्णय हुनेछ।’

वरिष्ठ नेता खनालले मंगलबारका लागि तय भएको बैठक बस्नैपर्ने अडानमा आफूहरु रहेको बताए। ‘प्रधानमन्त्री ओलीले आफैँ छानेर दुईमध्ये एक पदबाट राजीनामा दिए राम्रै हो, नत्र पार्टीले हटाउने बारेमा निर्णय गर्छ’, खनालले थपे।

अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग भएपछि ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। उनी पनि आफ्नो पक्षमा बहुमत पुर्‍याउन नेताहरुसँगको छलफललाई तीव्रता दिइरहेका छन्।

तर, कार्यकारी अध्यक्ष प्रचण्ड भने सहमतिको पक्षमा रहे पनि नेपाल–खनाल समूहको दबाबमा रहेका छन्। सहमतिका लागि भन्दै साउन ९ गते प्रचण्डले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए।

असार १० गते बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालन गर्न असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्रको मतभेद उत्कर्षमा पुगेको छ ।

याे पनि:  
स्थायी समिति बैठकबारे आफूनिकट नेताहरुसँग छलफल गर्दै प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .