राजनीति


बाढी निरीक्षणमा गएका नेताले बुइ चढेर हिलो छले

बाढी निरीक्षणमा गएका नेताले बुइ चढेर हिलो छले

नेपालखबर
साउन २, २०७६ बिहिबार ८:४१,

बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टर तराईका बाढीग्रस्त जिल्लामा जान तयारी अवस्थामा थियो। टोलीमा ३ बहालावाला मन्त्री र एक पूर्वप्रधानमन्त्री रहने निश्चित थियो।

पूर्व योजनाअनुसार नै उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ तथा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो। नेता र मन्त्री बोकेको नेपाली सेनाको हेलिकोप्टर बुधबार बिहान रौतहटका लागि उड्यो।

रौतहट बाढीबाट यो वर्ष सबैभन्दा बढी प्रभावित जिल्ला हो। अहिलेसम्म त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। बाढी पीडित जिल्लाहरुमध्ये रौतहट नै काठमाडौंबाट सबैभन्दा नजिकको जिल्ला पनि हो।

डुबान क्षेत्रमा राहात नपाएको र कोही नेता र जनप्रतिनिधि पनि नआएको गुनासो आइरहेका बेला सरकारको टोली बाढीग्रस्त क्षेत्रमा पुगेको थियो।

मन्त्री, पूर्वप्रधानमन्त्रीसहितको टोली बुधबारै सप्तरी जिल्ला पनि पुगेको थियो। सप्तरीका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी तिलाठी बाढीबाट प्रभावित छ। प्रहरी चौकी नै विस्थापित भएको तिलाठी भारतसँग सीमा जोडिएको सीमावर्ती गाउँ हो। हेलिकोप्टर बिसाएर करिब एक घन्टा पैदल हिँडेर मन्त्री तथा नेताहरु त्यहाँ पुगेका थिए।

food areaतराइको बाढीग्रस्त क्षेत्र। तस्विर: रासस

तिलाठी पुगेपछि मलाई रिंगाटा लाग्योः सांसद प्याकुरेल

तिलाठीमा सत्तारुढ नेकपाका एक जना नेता एवं राष्ट्रिय सभा सांसद सुमन प्याकुरेलले बुइ चढेर हिलो छलेको फोटो अहिले भाइरल भइरहेको छ। उनी सोही जिल्लाका नेता हुन्। तस्विरमा उनले पाइन्ट, जुत्ता र कोट लगाएका छन्। हातमा जुत्ता समातेका एक व्यक्तिले उनलाई काँधमा बोकेर अघि बढिरहेको देखिन्छ।  यो दृश्य देखेका नजिकैका सेना तथा प्रहरी हाँसिरहेका छन्। (हेर्नुहोस् सबैभन्दा माथि तस्विर) बाढीग्रस्त क्षेत्रमा  जुत्ता बचाउन नेतालाई काँधमा बोकिएको चर्चा चुलिएसँगै नेपालखबरले सांसद प्याकुरेलसँग सम्पर्क गरी सोधेको थियोः

यो तस्विर कहाँ खिचिएको तस्विर हो?

तीन जना मन्त्री तथा पूर्व प्रधानमन्त्रीसहितको टोलीसँगै बाढी पीडितको निरीक्षणमा गएका बेला सप्तरीको तिलाठीको खिचिएको फोटो हो, त्यो। हिजो बुधबारको कुरा हो।

तपाइँलाई बोक्ने व्यक्ति चाहिँ को हुन् ?
उनी चिनजानकै एक जना भाइ हुन्।

बाढी निरीक्षणमा गएको नेताले जुत्ता जोगाउन बुइँ चढ्नु सुहाउने कुरा हो त?
यो विषयमा मलाई अप्ठ्यारोमा पार्ने काम भएको छ। खास कुरा त्यस्तो होइन। मलाई प्रेसर छ। त्यही भएर ती भाइले मलाई बोक्न चाहनु भयो। मलाइ रिंगाटा लागिरहेको थियो।

रिंगाटा लागेको भए बस्न सकिन्थ्यो होला नि होइन?
बस्न सक्ने अवस्था त्यहाँ थिएन। चिनजानका भाइले बोक्छु भनेर आफैँले आग्रह गरे। मलाई गाह्रो भइरहेको थियो। मेरो मानवीय अवस्था नबुझी टिका टिप्पणी भइरहेको छ। त्यत्रा तीन-तीन जना मन्त्रीज्यू हुनुहुन्छ। उहाँहरूले देख्नु भएको छ मेरो अवस्था त्यहाँ के भएको थियो भनेर।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad