परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको बताएको छ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिमा अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्यलाई होच्याउन खोजिएको होइन,’ परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम नेपालमै जन्मेका र भारतले नक्कली जन्मभूमि बनाएको बताएका थिए।
परराष्ट्रले प्रधानमन्त्री ओलीको मन्तव्य कुनै पनि राजनीतिक विषयसँग सान्दर्भिक नभएको र कसैको भावनामा चोट पुर्याउने मनसाय नभएको भनी प्रष्ट्याएको छ।
‘श्री राम र उनीसँग जोडिएका ठाउँहरुसम्बन्धी बिभिन्न पौराणिक मान्यता र सन्दर्भहरु रहेको हुँदा रामायणले प्रतिनिधित्व गर्ने विशाल साँस्कृतिक भूगोल, श्री राम, रामायण र यो विशाल सभ्यताका सम्बन्धमा थप तथ्यहरु ल्याउनका लागि गर्नुपर्ने थप अध्ययन, अनुसन्धानको महत्वलाई प्रधानमन्त्रीबाट अझ जोड दिइएको मात्र हो,’ परराष्ट्रले भनेको छ।
प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई बिभिन्न ढंगबाट ब्याख्या भएपछि मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ।
परराष्ट्र मन्त्रालयले वर्षैपिच्छे विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउने परम्पराको आफ्नै महत्व रहेको जनाएको छ।
‘नेपाल र भारतका दुई प्रधानमन्त्रीबाट मे २०१८ मा रामायण सर्किटको उद्घाटन गरिएको थियो र जनकपुर–अयोध्या यात्रु बससेवा त्यसको एउटा महत्वपूर्ण पक्ष हो,’ परराष्ट्रले भनेको छ, ‘यो तथ्यले पनि हाम्रा दुई देश र जनताबीचको सदियौं पुरानो सांस्कृतिक घनिष्टताको महत्वलाई उजागर गर्दछ।’
याे पनि: प्रधानमन्त्री ओली भन्छन्ः भारतले खडा गरेको अयोध्या नक्कली हो, राम पनि नेपाली नै हुन्

प्रतिक्रिया