कारोबार


क्लिनफिडको अन्तिम तयारी, तीन दिनभित्र च्यानल लिंक उपलब्ध गराउन निर्देशन

क्लिनफिडको अन्तिम तयारी, तीन दिनभित्र च्यानल लिंक उपलब्ध गराउन निर्देशन

नेपालखबर
असार ३०, २०७७ मंगलबार १३:०,

भारतीय केही समाचार च्यानलले नेपालको राजनीतिको विषयमा भ्रामक समाचार दिएको भन्दै च्यानल बन्द गरिएको अवस्थामा सरकारले विज्ञापनरहित च्यानल (क्लिनफिड) लगाउने अन्तिम तयारी गरिरहेको छ।

यसै सिलसिलामा सरकारले मंगलबार सूचना जारी गर्दै क्लिनफिड लागू भए/नभएको अनुगमन गर्न च्यानल लिंक (फाइनल आईपी, एफपीटीएस) पठाउन सम्पूर्ण केवल टेलिभिजन सेवा प्रदायकलाई सूचना जारी गरेको छ।

सूचना तथा प्रसारण विभागले विज्ञापनरहित (क्लिन फिड) कार्यक्रम प्रसारण भए/नभएको अनुगमन तथा निरीक्षण गर्नका लागि केवल टेलिभिजन संस्थाबाट प्रसारण हुने सम्पूर्ण च्यानलहरुलाई क्युएएमभन्दा पहिले ‘फाइनल आइपी (एफपिटिएस)’लाई ‘डार्क कोर फाइबर’मार्फत तीन दिनभित्र उपलब्ध गराइदिन पत्राचार गरेको हो।

nugaman-khatiwada.jpg

विभागले यसअघि लकडाउन खुलेको १५ दिनभित्र उक्त लिंक पठाइदिन भनेकोमा मंगलबार सबै केवललाई सूचना जारी गर्दै लकडाउन खुकुलो भएको तीन दिनभित्र उपलब्ध गराउन भनेको हो।

विभागले दुई दर्जन केवल टेलिभिजन सेवा प्रदायकको नाम उल्लेख गर्दै उक्त सूचना जारी गरेको छ। सरकारले क्लिन फिड लागु गर्न सम्पूर्ण भौतिक पूर्वाधारहरु तयार गरिसकेको छ।

यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले त्यसको अनुगमन गरेका छन्। त्यसक्रममा मन्त्री खतिवडाले क्लिन फिड लागू गर्न थप जनशक्ति परिचालन गर्ने  बताए। साथै, उनले विज्ञापन बोर्ड गठन गरेर नै सरकार अगाडि बढ्ने बताए।

नेपालमा क्लिनफिड लागू गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मै एक वर्षमा लागू गर्ने प्रावधान ल्याएको थियो।

विज्ञापन ऐन–२०७६ अनुसार आगामी कात्तिक ८ देखि क्लिन फिड लागू गर्नुपर्ने हुन्छ।

विज्ञापन संघले मुलुकको विज्ञापन उद्योगमा अर्बौं रुपैयाँ थपिने हुँदा यसलाई छिटो लागू गर्न धेरै वर्षदेखि माग गर्दै आएका छन्।

साथै विभागले सञ्चालित च्यानलहरुको अनुगमनको तयारी समेत गरेको छ। त्यसको लागि विभागकाे क्लिनफिड सम्बन्धित ‘इक्विपमेन्ट’ तयारी अवस्थामा रहेको विभागले जनाएकाे छ।

उक्त मेसिनले इजाजत पत्र लिए नलिएको, नवीकरण गरे नगरेको वा एक नाममा लिएको इजाजत अर्कैैमा प्रयोग भएको छ कि भन्ने कुराको पनि अुनगमन गर्ने विभागको भनाइ छ।

क्लिनफिड लागू भएमा विदेशी ठूला कम्पनी, बहुराष्ट्रिय कम्पनीले नेपालमै आएर नेपाली विज्ञापन एजेन्सी, कलाकार र यहीको भूमि प्रयोग गरेर विज्ञापन बनाउने विश्वास छ।

जसले गर्दा नेपाली मिडिया, कलाकार, एजेन्सी, लेखकदेखि विज्ञापनसम्बन्धी सबै पक्षलाई फाइदा पुग्ने आशा गरिएको छ।

नेपाल विज्ञापन संघका अनुसार हाल नेपालमा विज्ञापन बजार १२ अर्बको रहेकाे र क्लिन फिड लागू भए पछि थप ६ अर्बले वृद्धि हुने जनाएको छ।

clean feed main photo 657

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad