नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएको दुई महिनापछि प्रहरीले उनको अनुसन्धानसँग सम्वधित केही तस्बिरहरु सार्वजनिक गरेको छ।
लामो समयपछि प्रहरीले बिहीबार उनको बारेमा केही जानकारी सार्वजनिक गरेको हो।
हालै प्रहरीले प्राप्त गरेको फुटेजमा एक व्यक्ति लण्डन रोडको जङसन नजिकैको नेथह्याम लेनतर्फ अगाडि बढिरहेको देखिन्छ।
उक्त फुटेज मोरिसकै हो कि हैन भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको छ। सो व्यक्ति रिचार्ड नै भए उनको अनुसन्धानमा थप मद्दत पुग्ने हुने प्रहरीले बताएको छ।
फुटेजमा देखिएको तस्बिर।
बेलायतको ह्यम्पसायर प्रहरीका अनुसार उनी फर्नहामको बेन्टलीमा ६ मेका दिन बिहान साढे दश बजे दौडिनका लागि निक्लेका थिए। तर उनी घर नफर्केपछि प्रहरीले उनको खोजीकार्य तीब्र गरेको थियो।
प्रहरीका अनुसार उनले लामो बाहुला भएको नीलो टिसर्ट, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएका थिए। रिचर्डको हुलिया ६ फिट अग्लो, श्वेत वर्ण, फुलेको कपाल र दाह्री पालेको उल्लेख गरिएको छ। उनको अनुहारमा जन्मचिन्ह भएको पनि सो हुलियामा जनाइएको छ।
मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए। नेपालको प्राकृतिक सौन्दर्यप्रति सधै अगाध माया र मोह प्रकट गर्ने पूर्व राजदूत मोरिसले नेपालमा ४ वर्षे कार्यकालमा बेलायती जनतालाई नेपाल भ्रमण गर्न सधै उत्तप्रेरित गरेका थिए।

प्रतिक्रिया