छापा खबर


भारतबाट वर्षमा सवा खर्ब रेमिट्यान्स आउँछ, नेपालबाट पाँच खर्ब जान्छ

भारतबाट वर्षमा सवा खर्ब रेमिट्यान्स आउँछ, नेपालबाट पाँच खर्ब जान्छ

नेपालखबर
असार २५, २०७७ बिहिबार २३:४७,

रोजगारीका लागि नेपाल भारतमा निर्भर छ भन्ने मान्यता भारतमा आम छ । तर, रोजगारी गरेर नेपालीले भारतबाट ल्याउने रकमभन्दा यताबाट उता जाने रकम चार गुणा बढी छ।

विश्व बैंकका अनुसार सन् २०१७ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स गएको थियो । भारतले रेमिट्यान्स पाउने देशहरूको सूचीमा नेपाल आठौँ स्थानमा छ ।

भारतमा रेमिट्यान्स आप्रवाहको वृद्धिदर १४ प्रतिशत थियो । यस हिसाबले सन् २०१९ मा नेपालबाट भारतमा तीन अर्ब ९१ करोड ९५ लाख रेमिट्यान्स गएको अर्थशास्त्रीहरूको अनुमान छ ।

यो हिसाबले सन् २०१९ मा चार खर्ब ७० अर्ब ३५ नेपाली रुपैयाँ भारत गएको देखिन्छ । तर, आव ०७५/७६ मा भारतबाट नेपालमा जम्मा एक खर्ब २८ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्।

 भारतीयलाई नेपालमा र नेपालीलाई भारतमा काम गर्न आउन–जान प्रवेशाज्ञा लिनुपर्दैन । त्यसो हुँदा यी दुवै देशमा एक–अर्का मुलुकका कति नागरिक छन् भन्ने तथ्यांक छैन।

तर, ०६८ को जनगणनाअनुसार १९ लाख २० नेपाली देशबाहिर छन्, त्यसमध्ये ३७ दशमलव २ प्रतिशत भारतमा थिए । त्यो भनेको सात लाख १४ हजार हो ।

पछिल्लो समय कामका लागि भारत जाने क्रम घटेको तथा तेस्रो मुलुक जाने क्रम बढेका कारण पनि भारतमा नेपालीको संख्या त्यसभन्दा बढी नभएको अनुमान छ । भारतीय सेनामा मात्रै ३२ हजार नेपाली भएको त्यहाँको विदेश मन्त्रालयको तथ्यांक छ ।

नेपालमा भारतीय कति छन्, भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन । तर, भारत गएको रेमिट्यान्सको आधारमा भारतमा नेपालीभन्दा नेपालमा भारतीय चार गुणा धेरै छन् । भारतमा सात लाख १४ हजार नेपाली रहेको तथ्यका आधारमा नेपालमा २६ लाखभन्दा धेरै भारतीय भएको बुझिन्छ।

व्यापारबाट पनि भारत नेपालसँग अतुलनीय फाइदामा छ । भारतको सबैभन्दा ठूला १० व्यापारिक साझेदारमध्ये नेपाल एक हो ।

गत आर्थिक वर्ष ०७५/७६ मा भारतले नेपाललाई नौ खर्ब १८ अर्बको सामान बेचेको थियो । तर, उसले नेपालबाट जम्मा ६३ अर्बको मात्रै सामान किनेको थियो । नेपालले किन्ने सामानबाट पनि भारतमा रोजगारी तथा समग्र अर्थतन्त्रमा ठूलो फाइदा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad