सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकमा कार्यसूचीभन्दा भिन्नै विषयमा छलफल भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थायी समितिको चौथो दिनको बैठकमा यसअघि निर्धारित कार्यसूचीभन्दा भिन्न विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
स्थायी समितिमा बैठकमा सीमाविवाद, कोभिड १९ सँग सम्बन्धित, पार्टी र सरकारको समीक्षा, एमसीसी र विविध कार्यसूची राखिएको थियो। तर, आइतबार मदन जयन्तिका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारत र नेकपाकै केही नेताले भूमिका खेलेको बताएपछि उत्पन्न तरङ्ग र दुई दिनअघि निर्वाचन आयोगमा एमाले नामको दल दर्ताको विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए।
‘आजको बैठकमा सीमाविवाद, कोभिड १९ सँग सम्बन्धित, पार्टी र सरकारको समीक्षा, एमसीसी र विविध कार्यसूची राखिएको थियो’, उनले भने, ‘यसबीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्न आवश्यकता महसुस गरेर दुई वटा विषयमा छलफल गर्यो।’
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको अभिव्यक्ति र दल दर्ताका लागि दिएको आवेदनका बारेमा प्रश्न गरेको प्रवक्ता श्रेष्ठले जनाकारी दिए।
उनले प्रधानमन्त्री ओलीले आफू नेकपाकै अध्यक्ष रहेको र आफ्नो पार्टी पनि यही भएको बताएको जानकारी दिए।
प्रचण्डको प्रश्नकमा प्रधानमन्त्री ओलीले के जवाफ दिनु भयो भन्ने पत्रकारको प्रश्नमा ‘आफू यही पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यही हो’ भनेर जवाफ दिएको बताए।

प्रतिक्रिया