राजनीति


एमाले दर्ता गर्न झापाकी सन्ध्या तिवारी निर्वाचन आयोग पुगिन्, प्रचण्डको प्रश्न- को हुन् उनी?

एमाले दर्ता गर्न झापाकी सन्ध्या तिवारी निर्वाचन आयोग पुगिन्, प्रचण्डको प्रश्न- को हुन् उनी?

नेपालखबर
असार १६, २०७७ मंगलबार १२:०,

एकीकृत नेपाल कम्युनिष्ट पार्टीभित्र दुई अध्यक्ष र अन्य नेताहरुबीच तिब्र विवाद भइरहेका बेला झापाकी सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न आवेदन दिएकी छन्।

सो जानकारी पाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको स्थायी कमिटी बैठकमा सोधे– उनी को हुन् र किन उनले पार्टी दर्ता गरिन्?

प्रचण्डको प्रस्तावपछि बैठकमा अप्रत्यासित रुपमा आएको त्यो विषयबारे छलफल भएको छ।

‘निर्वाचन आयोगमा नेकपा–एमाले दर्ता गर्न आवेदन दिएको भन्ने जानकारी आयो’, बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, ‘त्यो सन्दर्भमा हाम्रो पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने प्रश्न उठेकोले स्पष्ट हुन त्यो विषयमा पनि बैठकमा छलफल भयो।’

अध्यक्ष दाहालले त्यसबारे प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग पनि जिज्ञासा राखेका थिए।

‘प्रधानमन्त्रीले म नेकपाको अध्यक्ष हुँ र मेरो त पार्टी यहि नेकपा नै हो भन्नुभयो,’ श्रेष्ठले भने।

गत बैशाखमा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनलाई सहज हुनेगरी निर्वाचन ऐन संशोधन गर्न अध्यादेश ल्याएका थिए। पार्टीभित्र र बाहिरबाट समेत चर्को बिरोध भएपछि सो अध्यादेश फिर्ता गरिएको थियो।

पार्टी विभाजनको सो प्रसंग सेलाउन नपाउँदै झापाकी तिवारी निर्वाचन आयोगमा नेकपा–एमाले दर्ता गर्न पुगेपछि नेकपा नेताहरु झस्किएका छन्।

त्यस विषयले मंगलबारको बैठकलाई निकै गर्मागर्मी बनाएको एक स्थायी कमिटी सदस्यले बताए।

नेकपाका धेरै नेताहरूको अनुमान के छ भने अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षधरले नै तिवारीलाई एमाले दर्ता गर्न आयोगमा पठाएका हुन्।

प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै पछिल्लो केही सातायता पार्टीमा दाहाल–माधव नेपाल समूह निकै असन्तुष्ट रहँदै आएको छ। ओलीको असहमतीबीच डाकिएको स्थायी कमिटी बैठकको सुरुमै दाहालले ‘एक व्यक्ति एक पद’ मा जानु पर्ने भन्दै ‘त्याग गरेर’ राजीनामा दिन ओलीलाई आग्रह गरेका थिए।

राजीनामा मागिन थालेपछि ओलीले केही दिनअघि भारतको समेत चलखेलमा आफुलाई हटाउन खोजिएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीबाट हटाउन खोजिए अर्को पार्टी गठन गर्ने तयारी अन्तर्गत एमाले दर्ता गर्न पठाइएको धेरैको अनुमान छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad