न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नर जनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे।
भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत दाहालले कोभिड–१९ को महामारीका कारण उत्पन्न कठिन परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी ओहोदाको प्रमाणपत्र ग्रहणको व्यवस्था मिलाएकामा गभर्नरजनरलप्रति आभार व्यक्त गरे। त्यस अवसरमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली जनताका तर्फबाट न्यूजिल्याण्ड सरकार र त्यहाँका जनतामा शुभकामना व्यक्त गरेका क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ।
कोरोना भाइरसको संक्रमण रोक्न न्यूजिल्याण्ड सरकारले चालेका कदमको सरहाना गर्दै राजदूत दाहालले विश्वमा नै कोभिड–१९ बाट मुक्त पहिलो देश न्यूजिल्याण्ड बनेकामा हार्दिक बधाई ज्ञापन गरे। न्यूजिल्याण्डमा रहेका नेपाली समुदाय तथा विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति न्यूजिल्याण्ड सरकारप्रति उनले आभार व्यक्त गरे।
न्यूजिल्याण्डसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै कोभिड–१९ पछि दुई देशबीचको सम्बन्धलाई आपसी हितका खातिर अझ सुदृढ तुुल्याउन आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत दाहालले व्यक्त गरे। उनले दुई देशबीचको व्यापार र लगानी विस्तारमा पनि जोड दिए।
राजदूत दाहालको कार्यकालको सफलताको कामना गर्दै गभर्नर जनरल रेड्डीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका साथै नेपाली जनताप्रति शुुभकामना व्यक्त गरे। सन् १९६१ देखि न्यूजिल्याण्ड र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुमधुर रहेकामा त्यसप्रति उनले सन्तुष्टि व्यक्त गरे। रासस

प्रतिक्रिया