मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कार्यान्वयन गर्ने नेपालस्थित निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले एमसीसी सम्झौता कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको बताएको छ।
तर उसले विश्वव्यापी कोभिड–१९ महामारी तथा नेपालको संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा भने अवरोध सिर्जना भएको बताएको छ।
त्यसो हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको र सोहिअनुसार सम्बन्धित सबै पक्षसँग परामर्श भइरहेको एमसीए नेपालकाे धारणा छ।
‘अर्थात् पूर्वनिर्धारित मिति २०७७ असार १६ मा सम्झौताको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति हाम्रा सामु देखापरेको अवस्था छ,’ उसले भनेको छ।
एमसीए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको समेत उसले जनाएको छ।
‘नेपाल कम्प्याक्टका सन्दर्भमा आमसञ्चार माध्यमले राख्दै आएको अभिरुचिप्रति धन्यवाद व्यक्त गर्दै हामी यसको कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। यससम्बन्धमा हासिल भएका नयाँ प्रगतिबारे हामी जानकारी गराउँदै जानेछौँ,’ एमसीए नेपालले भनेको छ।
याे पनि: अमेरिकी दूतावास भन्छ : एमसीसी स्वीकार गर्ने/नगर्ने नेपालको रोजाइ, तर कोष सधैँ उपलब्ध नहुन सक्छ

प्रतिक्रिया