मन कि बात रेडियो कार्यक्रममा सम्बोधन गर्दै मोदीले आइतबार चीनको नाम नै नलिइ चिनियाँ सेनालाई भारतीय सेनाले कडा प्रतिकार गरेको संकेत गरेका हुन्।
‘भारतका साहसी सेनाले देशको मानमा आँच आउन दिएनन्’ बीबीसीहिन्दीका अनुसार मोदीले भनेका छन्,‘भारतले मित्रता निभाउन जान्दछ साथै आँखामा आँखा मिलाएर उचित जवाफ दिन पनि सक्छ। भारत आमाको गौरवमाथि कसैले आँच पुर्याउन सक्दैनन् भन्ने हाम्रा वीर सेनाले देखाइदिए।’
दुईहप्ता अगाडि भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएपछि मोदीको पछिल्लो भनाइ आएको हो।
उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु हुनुको साथै उनीहरुको ७६ सेना घाइते भएका थिए।
चिनियाँ पक्षले आफ्ना सेनाको अवस्थाको बारेमा जानकारी नदिएपनि भारतले चीनको ४० भन्दा बढी सेना मारिएको दाबी गरेको छ। यस दाबीलाई चीनले भने अस्वीकार गरेको छ।
मोदीले यसअघि झडपपछि चिनियाँ सेनालाई भारतीय सेनाले आफ्नो भूमिमा प्रवेश गर्न नदिएको साथै भारतीय सेनाले बहादुरीपूर्ण तवरले चिनियाँ सेनाको प्रतिकार गरेको बताएका थिए।
मृतक सेनाको बलिदानलाई खेर जान नदिने बताउँदै उनले त्यसबेला भारतले सद्भाव चाहेको र उक्साहटपूर्ण कार्य जारी रहे आफू प्रतिकार गर्न सक्षम भएको बताएका थिए।
लद्दाख नजिक गलवान उपत्यका र पाङगोङ तालको विषयलाई लिएर भारत र चीनबीच विवाद छ।
लद्दाख र अक्साइ चीनको सीमासँग जोडिएको यी क्षेत्रलाई दुवै देशले आफ्नो भएको दाबी गर्दा त्यहाँ बेलाबेला तनाव भइरहन्छ।

प्रतिक्रिया