राजनीति


प्रचण्डलाई ‘तपाईंको कुराबाट निरास छु’ भनेका ओली बैठकमै आएनन्

प्रचण्डलाई ‘तपाईंको कुराबाट निरास छु’ भनेका ओली बैठकमै आएनन्

मणि दाहाल
असार १२, २०७७ शुक्रबार १५:४२,

सत्तारुढ नेकपाको स्थायी समिति बैठकको दोस्रो दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भए। लामो प्रतीक्षा र पटकपटकको स्थगनपछि बल्लबल्ल सुरु भएको बैठकमा ओली नआएपछि नेकपाका नेताहरु आक्रोशित भएका छन्।

कतिपय नेताहरुले ओली अराजनीतिक संस्कार प्रदर्शन गरेको टिप्पणी समेत गरेका छन्।

उसो त बैठकका लागि ओली मनाउन नेताहरुले ठूलै संघर्ष गर्नुपरेको थियो। वैशाख १० गते २० जना स्थायी कमिटीका सदस्यहरुले लिखित रुपमै बैठकको माग गरेपछि पहिलो पटक वैशाख २५ गतेका लागि मिति तोकिएको थियो।

तर, बैठकको एक दिनअघि एजेन्डा तय गर्न भन्दै बोलाइएको सचिवालय बैठकबाट अध्यक्ष ओली बाहिरिएपछि स्थायी समिति अनिश्चित भएको थियो। त्यसको विरोध भएपछि वैशाख ३१ गतेका लागि अर्को मिति तय गरियो। तर, कोरोनाको कारण देखाउँदै अनिश्चिकालका लागि बैठक स्थगित गरियो।

अन्ततः बुधबारबाट बैठक सुरु भयो। तर, पहिलो दिन नै अध्यक्षद्वय र वरिष्ठ नेताहरुबीच घोचपेच र आलोचना हुन थाल्यो।

बैठकमा अध्यक्ष ओलीले बोलिरहँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पटकपटक उनको प्रतिवाद गरेका थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनको कडा आलोचना गरे। ओलीले सरकार र पार्टी राम्ररी सञ्चालन गर्न नसकेको उनको भनाइ थियो।

एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डको आलोचनाका कारण ओली रिसाएका थिए। उनका अनुसार बुधबारको बैठक सकिनेबित्तिकै ओलीले प्रचण्डलाई भनेका थिए- तपाईंको अभिव्यक्तिले म निरास भएको छु।

पहिलो दिन नै चुनौती महसुस गरेका प्रधानमन्त्री ओली दोस्रो दिन बैठकमा सहभागी नै भएनन्।

‘ओलीलाई पार्टी र सरकार आफूले राम्ररी सञ्चालन गरिरहेको भ्रम छ,’ ती नेताले भने। त्यसैले बैठकमा आलोचना हुँदा उनले असहज महसुस गरेको हुनसक्ने ती नेताको भनाइ छ।

‘बुधबारको बैठकमा जसरी अध्यक्ष प्रचण्डले उहाँको आलोचना गर्नुभयो, त्यसलाई हेर्दा आजको बैठकमा अन्य सचिवालय सदस्यहरुले पनि आलोचना गर्ने सम्भावना थियो,’ ती स्थायी कमिटीका सदस्यले भने, ‘त्यसैले अध्यक्ष ओलीले असजिलो महसुस गर्नु भएको हुनसक्छ।’

तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफैँले बोलाएको बैठकमा सहभागी हुन ओलीले असहज मान्नुपर्ने कुनै कारण नभएको दाबी गरे।

‘केन्द्रीय कमिटीको बैठकमा पनि उद्घाटन र समापनमा मात्र प्रधानमन्त्री उपस्थिति हुनु भएको हो। त्यस समय राम्रो हुने र अहिले नराम्रो हुने अवस्था होइन,’ थापाले भने, ‘यो बैठक पनि प्रधानमन्त्रीले बोलाउनु भएको हो। त्यसमा असहज महसुस गर्नुपर्ने केही कारण र अवस्था पनि छैन। अन्य काममा समेत व्यस्त रहनु परेकाले उपस्थित हुन नसक्नु भएको हो।’

एक दिनको विश्रामपछि शुक्रबार बिहान ११ बजेर २० मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीलाई नदेखेपछि स्थायी कमिटीका सदस्यहरुले बारम्बार प्रश्न उठाएका थिए।

ओलीले ‘बैठक चलाउँदै गर्नुस्, म पछि आउँछु’ भन्ने सन्देश पठाएपछि प्रचण्डले बैठक सुरु गरेका थिए।

‘बैठक सुरु गर्दै गर्नुहोस् भनेर प्रधानमन्त्रीले सन्देश पठाउनु भएपछि बैठक सुरु भएको थियो। तर प्रधानमन्त्री अन्तिम समयसम्म पनि आउनु भएन,’ स्थायी कमिटी सदस्य रघुजी पन्तले भने।

अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री नभएको बैठक खल्लो भएको टिप्पणी गरेकी थिइन्।

‘प्रधानमन्त्री बैठक राख्न खोज्नु हुन्न। छल्न खोज्नु हुन्छ। बैठक राखेपछि अनुपस्थित हुनुहुन्छ,’ शाक्यलाई उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीलाई सुनाउनु पर्ने कुरा थुप्रै थियो। उहाँ अनुपस्थित हुँदा बैठक नै खल्लो भएको छ।’

त्यस्तै भीम रावलसहितका आधा दर्जन नेताहरुले यसबारे प्रश्न गरेका थिए।

तर सल्लाहकार थापाले बैठकमा उठेका सबै कुरा नेताहरुले प्रधानमन्त्री ओलीलाई सुनाउने बताए।

प्रधानमन्त्री ओली अनुपस्थित भएपछि बैठकका कार्यविधिमा परिर्वतन गरिएको थियो। सचिवालयका सदस्यहरुले धारणा राख्ने भने पनि शुक्रबारको बैठकमा स्थायी कमिटीकै सदस्यलाई बोल्न दिइएको थियो।

१८ जना स्थायी कमिटीका सदस्यहरुले सीमा समस्या र समाधानको विषयमा धारणा राखेका थिए। लिम्पियाधुरासहितका भूभागलाई समेटेर नक्सा अद्यावधिक गर्ने राम्रो काम भएको भन्दै सदस्यहरुले भूमि फिर्ता गर्न कूटनीतिक प्रयासलाई तीव्र पार्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .