लद्दाखको ले एयरबेसबाट बुधबार दोहोरिँदै गलवान उपत्यकामा भारतीय लडाकु विमानहरु उडेका थिए। स्थानीयका अनुसार बुधबार ले नजिकै दर्जनौं सैन्य सवारीहरु पनि देखिएका थिए।
भारत र चीन दुवै देशले दाबी गर्दै आएको गलवानमा गत हप्ताको सोमबार झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।
हालै भएको कमाण्डरस्तरको वार्तापछि हाल चीन र भारत आफ्ना सेना फर्काउन तयार भएका छन्। यसबीचमा गलवानमा भारतीय युद्धक विमानहरु उडाइएका हुन्।
एएफपीका अनुसार उत्तरी क्षेत्रको कमान्ड सम्हालिरहेका एक भारतीय सैन्य अधिकारीले विवादित क्षेत्रमा भारतीय सेनाको राम्रो उपस्थिती भएको बताएका छन्।
मंगलबार र बुधबार भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणे लद्दाख पुगेका थिए। उनले त्यहाँ चिनियाँ सेनासँग भिडन्तमा उत्रेका घाइते सेनाहरु भेटेका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार नरवाणेले भारतीय सेनाले उक्त क्षेत्रमा गरिरहेको लडाइको तयारीबारे जानकारी लिएका थिए। केही समय अगाडि सिमानामा खटेका भारतीय सेनालाई अवस्था हेरि हतियार चलाउने या नचलाउने बारे आत्मनिर्णयको छुट प्रदान गरिएको भनेर समाचार पनि आएको थियो।
हालै विवादित हिमाली क्षेत्रबाट सेनाहरु फर्काउने सहमति त भएको छ तर पछिल्लो घटनाक्रमले विवाद फेरि बल्झिने अनुमान गरिएको छ।
हिजो बुधबार चीनको रक्षामन्त्रालयले फेरि एकपटक लद्दाख क्षेत्रमा भएको झडपमा भारत पूर्ण जिम्मेवार भएको बताएको थियो। भारतले भने चीनकै कारण झडप भएको बताउँदै आएको छ।

प्रतिक्रिया