राजनीति


गगन थापाले भने- पासपोर्ट काण्डको छानबिन हुनैपर्छ

गगन थापाले भने- पासपोर्ट काण्डको छानबिन हुनैपर्छ

नेपालखबर
असार ५, २०८३ शुक्रबार २०:४७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले पासपोर्ट काण्डको छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताएका छन्। 

शुक्रबार नेपाली कांग्रेसको नियमित श्रृङ्खला ग्रिन टेबलमा उनले पासपोर्ट काण्डको छानबिनमा विधि भने पछ्याउनुपर्ने बताएका हुन्।

‘पासपोर्ट काण्डबारे छानबिन सुरु भएको भन्ने थाहा भयो। पासपोर्ट काण्ड छानबिन हुनैपर्छ। तर त्यसमा पनि विधि भने पछ्याउनै पर्छ,’ उनले भने।

राहदानी छपाइको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै राहदानी विभागका महानिर्देशकसहित चार हिरासतमा छन्। साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाको नाममा म्याद तामेली गरेको छ।

कार्यक्रममा थापाले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि र प्रक्रिया नमिलेको बताए। ‘हामी भ्रष्टाचारको विरूद्धमा लडेर आएका हौं। तर अहिले सामान्यीकरण गरेर सबै गलत भन्ने भाष्य बनाइँदैछ,’ उनले भने, ‘हामी यो सफा गर्छौं। त्यसैका लागि पनि हामीसहित सबैको सम्पत्ति छानबिन गर भन्छौं। तर त्यो काम विधि र कानुनलाई पछयाएर हुनुपर्छ। हाम्रो चासो यही हो।’

शासकीय सुधारको कानुनी प्रबन्ध नगरेरै सम्पत्ति छानबिनको हतारो गर्दा जनताको सुशासनको चाहना फेरि पनि नतिजामा पुग्दैन कि भन्ने चिन्ता थपिएको थापाले बताए। वैधानिकरूपमा संसदबाट शक्तिशाली छानबिन आयोग गठन गरेर अघि बढेको भए यसको क्षेत्राधिकार स्पष्ट हुने, काम गर्ने शैली प्रभावकारी हुने तथा त्यसबाट जनतामा विश्वसनीयता अझ धेरै बढ्न जाने सभापति थापाको भनाइ थियो।

‘विधि र कानुनभन्दा माथि कोही हुँदैन। हामी आयोगलाई सम्पत्ति विवरण बुझाउँछौं। तर विधि र प्रक्रियाको कुराहरू पनि सँगसँगै उठाइरहन्छौं। किनकि हामी नेपाली समाजलाई प्रष्ट बनाउन चाहन्छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad