राजनीति


एमसीसी कार्यान्वयन गर्ने समय घर्किंदै गर्दा परराष्ट्र मन्त्री ज्ञवाली र अमेरेकी विदेश मन्त्री पोम्पियोबीच फोन वार्ता

एमसीसी कार्यान्वयन गर्ने समय घर्किंदै गर्दा परराष्ट्र मन्त्री ज्ञवाली र अमेरेकी विदेश मन्त्री पोम्पियोबीच फोन वार्ता

नेपालखबर
असार ११, २०७७ बिहिबार ६:१४,

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइकल पोम्पियोबीच पछिल्लो परिस्थितिबारे टेलिफोन कुराकानी भएकाे छ।

सो कुराकानीमा दुई मन्त्रीबीच कोभिड–१९ महामारीविरुद्ध संघर्षकाे अनुभव साटासाट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै मन्त्रीले एक अर्का देशमा भएको मानवीय क्षतिप्रति सहानुभूति र समवेदना प्रकट गरेका थिए।

‘दुवै पक्षबाट दुवै सरकारले आआफ्ना नागरिकको सुरक्षाका लागि गरेको प्रयासको सराहना गरिएकाे थियाे,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सो अवसरमा दुवै मन्त्रीले विकासमा साझेदारीको महत्व र त्यसले नेपालको अर्थसामाजिक विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

मन्त्री ज्ञवालीले अमेरिकी सरकारले नेपालको स्वास्थ्य र अन्य क्षेत्रमा कोभिड–१९ महामारीसँग सम्बन्धित परियोजनाहरु मार्फत् पुर्‍याएको सहयोगका लागि अमेरिकी सरकारको प्रशंसा गरेका थिए।

परराष्ट्रका अनुसार, विदेश मन्त्री पोम्पियोले अमेरिकाको सहयोग निरन्तर रहने आश्वस्त पारेका थिए।

‘दुवै पक्षबाट कोभिडपछिको अवस्थामा पनि थप आर्थिक साझेदारी जारी रहने विश्वास व्यक्त गरिएको छ,’ परराष्ट्रले भनेको छ।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट ५० करोड अमेरिकी डलर बराबरको सहयोग लिने नलिनेबारे नेपालमा तिब्र विवाद भइरहेका बेला दुई देशका मन्त्रीबीच टेलिफोन कुराकानी भएको हो।

एमसीसी परियोजना सम्बन्धी सम्झौता संसदबाट पारित भई असार १६ बाट कार्यान्वयन सुरु हुनुपर्नेमा सो सम्बन्धी सम्झौता संसदबाट पारित हुन सकेको छैन।

संसदको अर्को बैठक असार १७ गते राखिएको छ भने सत्तारुढ दल नेकपाभित्र र अन्य दलमा समेत यसबारे विवाद बढ्दाे छ।

तर, परराष्ट्रले जारी गरेको वक्तव्यमा भने दुई मन्त्रीबीचको टेलिफोन वार्तामा एमसीसीबारे के कुराकानी भयो भन्ने प्रसंग उल्लेख नै गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad