अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नाबारे गोप्य कुरा लेखिएको पुस्तक प्रकाशन हुन नदिने अन्तिम प्रयास गरिरहेका छन्।
राष्ट्रपति चयनका लागि हुन लागेको चुनावकै मुखमा आफूले यसका लागि चीनका राष्ट्रपति सी चिनफिङसँग सहयोग मागेको कुरा लेखिएको पुस्तक प्रकाशन हुन लागेपछि ट्रम्प हरहालतमा त्यो रोक्ने प्रयासमा लागेका हुन्। अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चयनको चुनाव हुँदै छ।
याे पनि: ‘आगामी चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपति सीसँग सहयोग मागेको’ खुलासा
उनकै पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो पुस्तकमा उनको त्यस्तो अति गोप्य कुरा लेखिएको छ भनेर अमेरिकी सञ्चारमाध्यम सीएनएनले खुलासा गरेपछि राष्ट्रपति ट्रम्प चुनावको माहोल बिग्रिने भन्दै तनावमा परेका हुन्।
यसैकारण त्यो पुस्तक प्रकाशनै हुन नदिन ट्रम्प प्रशासनले अदालतमा ण्मुद्दा दायर गरेको हो। तर संवैधानिक विज्ञहले ट्रम्प प्रशासनको प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन्।
लेखक बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा रहँदाको अनुभव समेटेर ‘द रुम ह्वेयर इट ह्यापेन्ड’ पुस्तक लेखेका हुन्। पुस्तक यही जुन २३ तारिख प्रकाशन गर्ने तयारी रहेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया