सरकारले चक्रपथअन्तर्गतको ललिपुरको सातदोबाटो र एकान्तकुनामा ग्रेड सेपरेटेड इन्टरसेक्सन (ओभरपास वा अन्डरपास) बनाउने भएको छ।
ग्वार्को चोकमा ओभरपास (फ्लाईओभर) बनेपछि सो क्षेत्रमा ट्राफिक जामको समस्या घटे पनि सातदोबाटो र एकान्तकुनामा उस्तै छ। सातदोबाटो र एकान्तकुनामा हुने ट्राफिक जाम कम गर्न सरकारले ओभरपास वा अन्डरपास बनाउने योजना अघि सारेको हो।
यसका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १२ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भएसँगै ठेक्का लगाउन आवश्यक योजना बनाउने काम भइरहेको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक राजेशप्रसाद पौडेलले जानकारी दिए।
‘फ्लाइओभर बनाउन बजेट विनियोजन भएसँगै ठेक्काका लागि आवश्यक तयारी अघि बढाइरहेका छौँ। सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन हाल विनियोजित बजेट अपुग छ। ठेक्का निकाल्नुअघि अर्थ मन्त्रालयसँग स्रोत सहमति लिनुपर्छ। उपलब्ध डिजाइन, ड्रोइङ, लागत अनुमानअनुसार प्रक्रिया अघि बढाइरहेका छौँ। स्रोत सुनिश्चितता उपलब्ध हुनेबित्तिकै ठेक्का निकाल्नेछौँ’, पौडेलले नेपालखबरसँग भने।
साढे १० किलोमिटर कलंकी–कोटेश्वर सडक चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५ माघमा ८ लेनमा निर्माण भएको थियो। जाम व्यवस्थापनका लागि तत्कालीन समयमा कलंकीमा मात्र अन्डरपास निर्माण गरियो। यसले गर्दा कलंकी चोकमा ट्राफिक व्यवस्थापन सहज हुन पुग्यो। तर बाँकी चोकहरुमा त्यस्तो संरचना निर्माण गरिएन। जसले गर्दा कलंकी–कोटेश्वर खण्डमा पर्ने महत्त्वपूर्ण चोकहरुमा ट्राफिक जाम बढ्न गयो।
यसका लागि केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ग्रेड सेपरेटेड इन्टरसेक्सनको आवश्यकता महशुस गरेर परामर्शदाता जियोकम/बीडीए/रेज जेभीको सहयोगमा २०७७ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो।
सोही डीपीआरको आधारमा केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना तीनवटै खण्डमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन अर्थ मन्त्रालयसँग स्रोत सहमति माग गरेको थियो। तर अर्थ मन्त्रालयले ग्वार्कोमा ओभरपास बनाउनका लागि मात्र स्रोत सहमति प्रदान गर्दा तत्कालीन अवस्थामा हाल प्रस्तावित दुई ठाउँमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बन्न सकेन।
तर यो पटक भने दुवै स्थानमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउनका लागि अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गर्ने केन्द्रको विश्वास छ।
‘ग्वार्कोमा ओभरपास बन्दा सो क्षेत्रमा हाल ट्राफिक सहज रुपमा व्यवस्थापन भइरहेको छ। तर सातदोबाटो र एकान्तकुनामा सोहीअनुसारको संरचना नबन्दा यस क्षेत्रमा जाम बढ्दो छ। कोटेश्वरदेखि कलंकीसम्म विना अवरोध सवारीसाधन गुड्न चोकहरु सुधार गर्न आवश्यक छ। सोहीअनुसार प्रक्रिया अघि बढाउन लागिएको हो’, उनले भने।
साथै, कोटेश्वरमा सुरुङसहित फ्लाइओभर बनाउन जापान सरकारसँग ३२ अर्ब रुपैयाँ ऋण सम्झौता भइसकेको छ। तर कलंकीदेखि कोटेश्वरसम्मको सडक फराकिलो र चिल्लो बने पनि चोकहरुमा चक्रपथ हुँदै गुड्ने र सहरभित्र बस्ने तथा बाहिरिने गाडीहरु पास हुन ‘होल्ड’ हुनुपर्दा जाम हुने गरेको छ।
पालैपालो एउटा एउटा संरचना निर्माण गरेर चक्रपथका चोक सुधार गर्नुभन्दा एकै पटक यी दुवै स्थानमा संरचना बनाउने केन्द्रको योजना छ।
ठेक्का लगाउनुअघि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजाइन र ठेक्कामा केही प्रावधान राखेर निर्माण कार्यलाई तीव्रगतिमा सम्पन्न गर्ने सम्बन्धमा पनि केन्द्रले छलफल गरिरहेको उनले जानकारी दिए।
‘एकै पटकमा दुई स्थानमा संरचना निर्माण गर्दा यात्रीले निर्माण अवधिभर सास्ती खेप्नुपर्छ। संरचना तयार भएर सवारी गुड्न थालेपछि त्यस्तो सास्ती खेप्नुपर्दैन। साथै प्रत्येक वर्षको अन्तरालमा जाम, माटोको थुप्रो, धुलोबाट पनि एकै पटक राहत मिल्छ’, उनले भने।
त्यसैले केन्द्रले दुवै स्थानमा एकै पटक संरचना निर्माण गर्न आवश्यक पर्ने स्रोत सुनिश्चितता अर्थ मन्त्रालयसँग माग गर्ने योजना बनाइरहेको छ। सरकारले पनि सातदोबाटो र एकान्तकुनामा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन इच्छुक रहेकाले अर्थबाट स्रोत सहमति प्राप्त हुनेमा केन्द्र सकारात्मक देखिन्छ। सातदोबाटो र एकान्तकुनामा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन करिब डेढ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।
सातदोबाटो र एकान्तकुनामा कस्तो संरचना बनाउने भन्ने हालसम्म भने एकीन हुनसकेको छैन। यहाँ अन्डरपास र ओभरपाससहितको मिश्रित डिजाइनको संरचना निर्माण गर्ने योजनामा केन्द्रको छ।
जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन अत्यावश्यक देखिए पनि निर्माण प्रक्रिया अघि बढाउनुअघि महत्त्वपूर्ण विषयहरुमा सरोकारवालाहरुसँग छलफल गरी अघि बढ्ने केन्द्रको तयारी छ।
ऐतिहासिक र सांस्कृतिक सहर ललितपुरसँग जोडिएको चोक सातदोबाटो र एकान्तकुना हो। यी चोकहरुमा अग्ला र विशाल कंक्रिटका संरचना बनाउन परम्परागत लुक्स र जात्रा संस्कृतिमा प्रभाव पर्ने सम्बन्धमा पनि केन्द्र सजक रहेको पौडेल बताउँछन्।
यस्ता महत्त्वपूर्ण विषयहरु सम्बोधनका लागि केन्द्रले ललितपुर महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीय, पैदलयात्री, पूर्वाधारविज्ञ, सडक विभागलगायतसँग छलफल गरेर न्यूनतम अवरोध हुने गरी समयमा सम्पन्न गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा रहेको उनले बताए।
एकान्तकुना नजिकको नख्खु दोबाटोबाट रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रामा अग्लो रथ तानिन्छ। त्यसैले यहाँ ओभरपास उपयुक्त विकल्प नहुन सक्छ। यहाँ कलंकी खण्डको जस्तो अन्डरपास बनाउन सकिन्छ। तर यसका लागि सरोकारवालाहरुसँग छलफलबाट प्राप्त सुझावसहितको निचोडविना सातदोबाटो र एकान्तकुनामा कस्तो संरचना बनाउन उपयुक्त हुन्छ भन्न हतार हुने उनी बताउँछन्।
यसअघि ग्वार्को चोकमा भव्य संरचना खडा गरी सहरी सौन्दर्यमा खलल पुगेको भन्दै आलोचना भएको थियो। अहिले सोहीबाट पाठ सिकेर अघि बढ्ने योजनामा केन्द्र छ।
ईपीसी मोडलमा बनाउने तयारी
सरकारले यो आयोजना इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन मोडल (ईपीसी)मा बनाउने योजना बनाएको छ। यसमा निर्माण व्यवसायीले डिजाइन (इन्जिनियरिङ), आवश्यक सामग्री तथा उपकरण खरिद (प्रोक्योरमेन्ट) र निर्माण (कन्सट्रक्सन) तीनवटै कामको पूर्ण जिम्मेवारी लिन्छ।
यसले गर्दा आयोजना निर्धारित लागत, गुणस्तर र समयभित्र सम्पन्न गर्ने मुख्य जिम्मेवारी निर्माण व्यवसायीलाई नै हुन्छ। डिजाइन र निर्माण एउटै कम्पनीबाट हुने भएकाले डिजाइन र ठेक्काका लागि छुट्टाछुट्टै ठेक्का निकाल्नुपर्दैन। जसले गर्दा डिजाइन र निर्माणका लागि ठेक्का निकाल्ने समयको अन्तर कम हुन्छ। साथै एउटै कम्पनीले सम्पूर्ण काम गर्ने भएकाले निर्माण प्रक्रिया छिटो हुन्छ।
धेरैजसो ईपीसी सम्झौता निश्चित मूल्य (लम सम)मा हुने भएकाले लागत अनियन्त्रित रुपमा बढ्ने सम्भावना कम हुन्छ। डिजाइन र निर्माण एउटै कम्पनीले गर्ने भएकाले डिजाइनमा आउने त्रुटि देखाएर निर्माण व्यवसायीले लागत रकमका साथै समय बढाउने सम्भावना पनि न्यून रहन्छ।
ग्वार्कोको ओभरपास पनि ईपीसी मोडलमा तयार भएको थियो।
२०७८ फागुनमा २० महिनामा निर्माणसम्पन्न गर्ने गरी आरसी, समानान्तर र रेलिग्रे जेभीले १७ करोड ६८ लाख रुपैयाँमा ठेक्का लिएको थियो। तर निर्माण कार्य भने २०८२ असारमा सम्पन्न हुन पुगेको थियो। समयमै काम नभएपछि निर्माण व्यवसायीले दैनिक ८८ हजार रुपैयाँ जरिवाना तिरेर काम सम्पन्न गरेको थियो।
आगामी आवको बजेटमा ग्वार्को चोकको ओभरपासको नियमित मर्मतसम्भारका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ।
Shares

प्रतिक्रिया