नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम भएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनैपनि क्षेत्र गतिका साथ अघि बढ्न नसकेको तर्क समेत गरे।
अध्यक्ष ओलीले भने,‘खेलाडीहरूमा देशभक्ति चाहिन्छ। देशको प्रतिष्ठाका लागि खेलाडीहरूले कसरी ज्यान फालेर खेलेका हुन्छन्? हामी हरेकमा देशभक्ति चाहिन्छ। हामीले त्यसलाई बुझ्नुपर्दछ। देश विकसित भएन भने मलाई खेलसँग मतलव छ अरुथोक भनेर देश नै बर्बाद छ भने खेलमात्रै कसरी अघि बढ्छ र? नेपालको हालत त्यही भएको त हो।
अध्यक्ष ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भएपनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए। उनले आम जनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने दाबी समेत गरे।
उनले भने, ‘हामीले देशलाई अगाडि बढाउन खोज्यौँ। भुईंचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ। अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ। र विभिन्न क्षेत्रहरू शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र अनेकलाई हामीले यत्नपूर्वक अघि बढाउने प्रयास गर्यौं। तर त्यो कुरा सैह्य भएन।’
ओलेले थपे, ‘विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसावले, ढाल्न नसकेपछि असंवैधानिक हिसावले, उपद्रवको हिसावले तोडफोड, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरुबाट सरकार ढाल्ने बाटो समातियो। त्यसलाई वैधानिकता दिने काम भएको छ। तर देशलाई हामी फेरि शान्तिपूर्ण नेपाल, भयमुक्त नेपाल, साँच्चै सबै जनताले न्याय पाउने नेपाल, सबै जनतालाई न्याय प्राप्त हुने, सबैलाई माया गर्ने व्यवस्था त्यस प्रणालीबाट फेरी अगाडि बढ्नेछौँ।’
अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको पनि बताए।
Shares

प्रतिक्रिया