ad ad

राजनीति


रुकुम हत्याकाण्ड : घटनास्थल पुग्यो संसदीय विशेष समिति, थाल्याे छानविन

रुकुम हत्याकाण्ड : घटनास्थल पुग्यो संसदीय विशेष समिति, थाल्याे छानविन

नेपालखबर
असार २, २०७७ मंगलबार १३:११,

रुकुम हत्याकाण्डको छानविन गरी प्रतिवेदन पेस गर्नका लागि गठन गरिएको संसदीय विशेष समितिले घटनास्थलमै पुगेर छानविन थालेको छ।

गत जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम पश्चिमको चौरजहारी पुगेर मंगलबार संसदीय समितिले अध्ययन थालेको टोलीका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।

संसदीय टोली स्थलगत अध्ययनका लागि जेठ ३२ गते रुकुम पुगेको हो।

टोलीमा संयोजक देवेन्द्र पौडेलसहित मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली, एकवाल मियाँ, पार्वती कुमारी बिसुन्के, बिमला विक, महेश्वरजंग गहतराज, रामसहाय प्रसाद यादव र दुर्गा पौडेल छन्।

सो टोलीमा रहेका संसद सचिवालयका सहसचिव सुरजकुमार दुरासहितका पाँच जना पनि सो घटनाको छानविनका लागि रुकुम पुगेका छन्।

‘हामीले घटनाको बारेमा अध्ययन थालेका छौं, दुई दिनदेखि विभिन्न निकायसँग छलफल भइरहेको छ,’ ती सांसदले नेपालखबरसँग भने।

सरकारले गत जेठ २६ गते पौडेल नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको थियो।

जेठ १० गते जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकसहित टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीलाई हत्या गरी भेरी नदीमा फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि नेपाली कांग्रेसले संसदीय समिति गठन माग गरेर संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो। कांग्रेसको चेतावनीपछि जेठ २३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति गठन गर्ने प्रतिवद्धता जनाएका थिए।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ कि आफ्नी प्रेमिका सुष्मा मल्ल ठकुरीसँग बिहे गर्न भनी रुकुमको सोती पुगेका जाजरकोटका प्रेमी नवराज विकसहित १८ जनामध्ये ६ जनालाई त्यहाँका स्थानीयले लखेटेर हत्या गरेका थिए।

घटनालगत्तै गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, केन्द्रीय अनुसन्धान विभागका ओमबहादुर खड्का, मन्त्रालयका उपसचिव वशिष्ट कुमार घिमिरे र माधवप्रसाद ढकाल रहेको पाँच सदस्यीय छानविन टोली गठन गरेको थियो।

मन्त्रालयको सो टोलीले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमा नवराज विकसहित ६ जनालाई ४ किलोमिटरसम्म लखेटेर हत्या गरी भेरी नदीमा फालिएको उल्लेख छ।

घटनाका योजनाकार चौरजहारी नगरपालिका–८, का वडाध्यक्ष डम्बर बहादुर मल्ल रहेको समेत प्रतिवेदनमा उल्लेख छ।

गृह मन्त्रालयको छानविन समितिले प्रतिवेदन बुझाएलगत्तै संसदीय विशेष समिति रुकुम गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .